पोखरा । प्रथम हेमजा साहित्य महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । हेमजा साहित्य महोत्सव तथा कविवर एवम् भाषाविद् मुकुन्दशरण उपाध्याय रथारोहण एवम् नागरिक अभिनन्दन मूल समारोह समितिको आयोजना तथा हेमजा साहित्य प्रतिष्ठानको प्रमुख व्यवस्थापनमा मंसिर १९ र २० गरी दुई दिने महोत्सव हुन लागेको हो ।
मुल आयोजक समितिका अध्यक्ष शंकरमणि त्रिपाठी ‘छन्दमणि’ का अनुसार विभिन्न उपसमितिले आ– आफ्नो तयारी पुरा गरेका छन् । महोत्सवका सबै व्यवस्थापकीय तयारी पुरा भएको बताए । “हेमजा अब केवल भौगोलिक रूपमा सुन्दर गाउँ मात्र नभई साहित्यिक चेतना र सिर्जनशील ऊर्जाको केन्द्रका रूपमा उभिँदै छ।यो हाम्रो काव्यनगरी हो। यस महोत्सवले हेमजाको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा पु¥याउनेछ,“उन्ले भने ।
विशुद्ध मौलिक साहित्य महोत्सवको रुपमा रहेको यो महोत्सवमा कास्की जिल्ला वाहिरबाट १ सय बढि साहित्यकार र एउटै मञ्चमा देखा पर्नेछन् । दुई दिने महोत्सवमा देशभरका चर्चित कवि, लेखक, कलाकार तथा स्रष्टाहरूको उपस्थिति रहनेछ।
‘मौलिक पहिचानको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो महोत्सवमा देशभरका प्रख्यात साहित्यकार एउटै मञ्च देख्न पाईनेछ’ संयोजक छन्दमणिले भने, ‘साहित्यका वारेमा जानकार लिन र साहित्यको स्वाद लिन यो महोत्सव नछुटाउनुहोला ।’
हेमजामा पहिलो पटक आयोजना गरिएको हेमजा साहित्य महोत्सवमा १९ गते साहित्यका कार्यक्रम र २० गते कविवर मुकुन्दशरण उपाध्याय रथारोहण एवं अभिनन्दन कार्यक्रम रहेको मुल आयोजक समितिका महासचिव शिव त्रिपाठीले जानकारी दिए । रथारोहण कार्यक्रम २० गते बिहान ठिक १० : ३० बजे विष्णुपादुका खेल मैदान,अर्थात् लामाचौतारादेखि सुरु भई महेत्वसव स्थल ज्ञfनसागर एकेडेमी प्रवेश गर्नेछ ।
महोत्सवको १९ गते जिल्ला वाहिरबाट आएका साहित्यकारले आ–आफ्ना सिर्जना प्रस्तुत गर्ने छन् । जस अन्तर्गत कविता, गीत, गजल, मुक्तक लघुकथा वाचन रहने छ भने नाटक तथा रंगमञ्च, महाकाव्य लेखन, आख्यान लेखन सम्बन्धि परिसम्वाद कार्यक्रम रहेको त्रिपाठीले जानकारी दिए ।
साहित्य, संस्कृति र समग्र हेमजाको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफल बनाउन स्थानीय समुदाय, साहित्यिक संस्था, विद्यालय तथा स्वयम्सेवी समूहहरूको सहयोग रहेको उनले जानकारी दिए ।
विशेष गरी साहित्य, संस्कृतिचेतना र काव्यिक योगदानका आधारमा कविवर मुकुन्दशरण उपाध्यायलाई रथारोहणसहित अभिनन्दन गर्ने कार्यक्रम महोत्सवको मुख्य आकर्षण बनेको छ। रथारोहण कार्यक्रममा कविवर उपाध्यायको साहित्यिक यात्राका महत्वपूर्ण पक्षहरू प्रस्तुत गरिएको सांस्कृतिक झाँकीसहित विविध प्रस्तुतिहरू समेत रहने त्रिपाठीले जानकारी दिए ।
महोत्सवका क्रममा कविता वाचन, पुस्तक विमोचन, साहित्यिक परिसंवाद , सांस्कृतिक प्रस्तुति तथा स्थानीय कला–संस्कृतिको प्रदर्शनीसमेत हुनेछ।
दुई दिन हेमजामा आयोजना हुने यो कार्यक्रम नेपालको साहित्यिक क्षेत्रमा महत्वपूर्ण सावित हुने विश्वास आयोजकले लिएको छ । महोत्सव मंसिर १९ र २० गते हेमजाको ज्ञानसागर एकेडेमीमा हुने छ ।
