देविस्थान सेवा समाज हेमजाको छैटौँ अधिवेशन तथा नवौँ साधारण सभा सम्पन्न , ई. अमृत कुँवर अध्यक्षमा सर्वसम्मत

समाचार

पोखरा–२५, हेमजा । देविस्थान सेवा समाज, पोखरा–२५ हेमजाको छैटौँ अधिवेशन, नवौँ साधारण सभा तथा छैटौँ हेमजा हिले महोत्सव–२०८३ को आय–व्यय सार्वजनिक कार्यक्रम आइतबार हेमजास्थित ग्रीन हाउस पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ।

देविस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव क्या. पुष्पराज तिम्सिनाले वार्षिक  प्रतिवेदन तथा कोषाध्यक्ष मोहन भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत दुवै प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो।

सार्वजनिक गरिएको विवरण अनुसार छैटौँ हेमजा हिले महोत्सव–२०८३ मा कुल आम्दानी रु। ३ लाख ९० हजार ९६७ र कुल खर्च रु ५ लाख ७९ हजार ०७४ रहेको छ। यस अनुसार महोत्सवमा रु १ लाख ८१ हजार १०७ रुपया घाटा देखिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पोखरा महानगरपालिका–२५ हेमजाका वडा सदस्य कृष्णबहादुर कुँवरको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै कुँवरले देविस्थान सेवा समाजले आफ्नो संस्कार, संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षण तथा जागरणसँगै सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरे।

उनले हेमजा हिले महोत्सव आयोजना गरी हेमजालाई देश–विदेशमा चिनाउन देविस्थान सेवा समाजले अतुलनीय भूमिका खेलेको उल्लेख गरे। स्थानीय कला, संस्कृति, कृषि, पर्यटन तथा सामाजिक पहिचानलाई जोड्दै महोत्सवले हेमजाको छुट्टै पहिचान स्थापित गर्न सहयोग पुर्‍याएको उनको भनाइ थियो।

 सदस्य कुँवरले सामाजिक तथा विकास निर्माणका काममा सकारात्मक सोच र सहकार्य आवश्यक रहेकोमा जोड दिँदै पदमा बसेर काम नगर्ने तथा विकास निर्माणमा अवरोध गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे।

उनले भने, “ जसले काम गरेको छ, दुःख–कष्ट सहेर समाज र वडाको विकासमा योगदान दिएको छ, उसैलाई गाली गर्ने होइन। विरोध गरौँ, तर सकारात्मक र रचनात्मक तरिकाले विरोध गरौँ।”

कार्यक्रममा हेमजाका विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय समाजसेवी, आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले देविस्थान सेवा समाजले सामाजिक एकता, संस्कार–संस्कृति संरक्षण तथा समुदायको हितमा गर्दै आएको कार्यको प्रशंसा गरेका थिए।

अमृत कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति

अधिवेशनबाट २०८३–२०८५ कार्यकालका लागि ई. अमृत कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अन्जिता भण्डारी तिम्सिना, सचिवमा क्या. पुष्पराज तिम्सिना, सह–सचिवमा प्रशान्त विक्रम खड्का र कोषाध्यक्षमा मोहन भण्डारी चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा तिर्सना पराजुली तिम्सिना, जमुना तिम्सिना, मधु दाहाल, कृष्ण भण्डारी, सपना सापकोटा र शारदा पौडेल रहेका छन्।

नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा समाजको संस्थागत विकास, सामाजिक एकता, संस्कार–संस्कृति संरक्षण तथा समुदायको हितमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

देविस्थान सेवा समाजले हेमजाको सामाजिक, सांस्कृतिक तथा सामुदायिक विकासमा पुर्‍याउँदै आएको योगदानलाई आगामी दिनमा अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।