कास्कीमा बोइलर कुखुरा पालक किसानको भेला, ईश्वर सापकोटाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन

समाचार

पोखरा । कास्की जिल्लाका बोइलर कुखुरा पालक किसानहरूको हकहित संरक्षण, समस्या पहिचान तथा भावी रणनीति निर्माण गर्ने उद्देश्यले पोखरामा किसानहरूको भेला सम्पन्न भएको छ। भेलाले ईश्वर सापकोटाको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ।

यसअघि २०८३ भदौ ८ गते नेपाल बोइलर कुखुरा पालन किसानहरूको राष्ट्रिय आन्दोलन माइतीघर मण्डलामा सम्पन्न भएको थियो। उक्त आन्दोलनका क्रममा कृषि मन्त्री गीता चौधरीसमक्ष १२ बुँदे माग प्रस्तुत गरिएको र सम्बन्धित मन्त्रालयबाट एक साताभित्र सरोकारवाला निकायसँग समन्वय गरी समस्याको समाधान खोज्ने आश्वासन प्राप्त भएको बताइएको छ।

यसैबीच, रसुवा–नेपाल सीमाक्षेत्रतर्फ आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि देशभरका बोइलर कुखुरा पालक किसानहरूले आ–आफ्नो क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग सङ्कलन गर्ने निर्णयसमेत गरेका छन्।

किसानहरूको हकहितका लागि देशभर प्रारम्भिक समिति गठन गर्ने अभियानअन्तर्गत कास्कीमा पोखरा महानगरपालिका–२५ हेम्जाका अध्यक्ष जगतबहादुर विश्वकर्माको अध्यक्षता तथा नारायण प्रसाद रेग्मीको संयोजकत्वमा भेला आयोजना गरिएको थियो। कार्यक्रममा दिपेन्द्र गुरुङले सहजीकरण तथा सञ्चालन गरेका थिए भने ईश्वर सापकोटाले भेलाको समन्वय गरेका थिए।

भेलामा पोल्ट्री व्यवसाय सङ्घ कास्कीका पूर्वअध्यक्ष निर्मल क्षेत्रीले विगतमा सङ्घले गरेका काम तथा वर्तमान समयमा पोल्ट्री किसानहरूले भोगिरहेका चुनौतीबारे जानकारी गराएका थिए।

झाँदीखोला, भलाम, शान्तिस्तूप, बाघमारा, सराङकोट, जोइमुरी, धिताल र हेम्जालगायतका क्षेत्रबाट करिब ६५ जना बोइलर कुखुरा पालक किसानहरूको सहभागिता रहेको थियो।

भेलाले कास्की जिल्लाभित्रका सम्पूर्ण बोइलर कुखुरा पालक किसानसँग प्रत्यक्ष छलफल गरी समस्या तथा आवश्यकताका आधारमा भावी योजना निर्माण गर्ने निर्णय गरेको छ। साथै, किसानहरूको संगठनलाई वैधानिक रूपमा अघि बढाउने उद्देश्यले १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।

तदर्थ समितिका पदाधिकारी तथा सदस्य

  • ईश्वर सापकोटा — संयोजक, हेम्जा
  • प्रेमप्रसाद गौतम — सदस्य, झाँदीखोला
  • लिलाराज पौडेल — सदस्य, भलाम
  • सुदिर बस्याल — सदस्य, शान्तिस्तूप
  • पवन सुवेदी — सदस्य, भलाम
  • गिरीधारी गौतम — सदस्य, झाँदीखोला
  • निरज क्षेत्री — सदस्य, शान्तिस्तूप
  • प्रदीप गौतम — सदस्य, बाघमारा
  • हिरा सुनार — सदस्य, बाघमारा
  • प्रकाश थापा — सदस्य, सराङकोट
  • यमबहादुर मगर — सदस्य, जोइमुरी
  • गोविन्द पौडेल — सदस्य, धिताल
  • नारायणप्रसाद रेग्मी — सदस्य, हेम्जा
  • दिपेन्द्र गुरुङ — सदस्य, हेम्जा
  • ईश्वर सापकोटा — सदस्य, हेम्जा
  • मिमेन्द्र भण्डारी — सदस्य, हेम्जा
  • दुर्गा सुनार — सदस्य, हेम्जा

नवनिर्मित समितिले कास्की जिल्लाका सबै बोइलर कुखुरा पालक किसानलाई समेट्दै उनीहरूका समस्या, सुझाव र आवश्यकताका विषयमा थप छलफल गरी आगामी कार्यदिशा तय गर्ने जनाएको छ।