पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ। संघको ३६औँ महाधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी छन्।
अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका तीन प्रत्यासीलाई पछि पार्दै गौतमले ११४ मतको अन्तरले जित हासिल गरेकी हुन्। सोमबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार गौतमले ७५१ मत प्राप्त गरिन्।
उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३७, उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत प्राप्त गरे।
यसअघि संघको अध्यक्ष पदका लागि हीरा भट्टराई र बिन्दु कोइरालाले पनि प्रयास गरेका थिए। तर, उनीहरू अध्यक्षमा निर्वाचित हुन सकेका थिएनन्। गौतमको निर्वाचनसँगै पोखराकै जेठो निजी क्षेत्रको छाता संगठनका रूपमा रहेको संघले पहिलोपटक महिला अध्यक्ष पाएको हो।
महासचिवबाट अध्यक्षको जिम्मेवारीमा
नवनिर्वाचित अध्यक्ष गौतम यसअघि संघको महासचिवको जिम्मेवारीमा थिइन्। कार्यसमिति सदस्य हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेकी उनी अब संघको नेतृत्वमा पुगेकी छन्।
संघको ३६औँ महाधिवेशनमा कुल २ हजार ७३१ सदस्य मतदाता रहेकोमा अध्यक्ष तथा पदाधिकारीतर्फ २ हजार २७४ मत खसेको थियो।
अध्यक्षमा गौतम र आचार्यले आ–आफ्नो प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।
यस्तो बन्यो नयाँ कार्यसमिति
निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (उद्योग) मा सौगात थापा, उपाध्यक्ष (वाणिज्य) मा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा देवेन्द्र प्रजू र उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भएका छन्। उपाध्यक्ष (उद्योग) मा निर्वाचित सौगात थापा गौतम प्यानलका हुन्।
त्यस्तै, खुला सदस्यतर्फ दुर्गा बराल, अमृत पोख्रेल, निर्मला चापागाईं, गोविन्दबहादुर केसी, रामेश्वर अधिकारी, मनोहरि पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भएका छन्।
वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा औद्योगिक सदस्यमा पिताम्बर अधिकारी निर्विरोध निर्वाचित भएका थिए।
संघको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।
‘हजारौँ महिला उद्यमीको प्रतिनिधि आवाज’
निर्वाचनपछि प्रतिक्रिया दिँदै गौतमले आफ्नो जितलाई व्यक्तिगत उपलब्धिभन्दा पनि महिला उद्यमीहरूको प्रतिनिधित्वका रूपमा लिएको बताएकी छन्।
“मेरो परिचय केवल एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौँ संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो,” उनले भनिन्।
गौतमको अध्यक्षमा निर्वाचनसँगै पोखराको निजी क्षेत्रको नेतृत्वमा महिलाको सहभागिताबारे पनि नयाँ अध्याय सुरु भएको छ।
चियापसलदेखि उद्योग वाणिज्य संघको नेतृत्वसम्म
गौतमको व्यावसायिक यात्रा करिब २६ वर्षअघि एउटा सानो चिया पसलबाट सुरु भएको थियो। उद्योग वाणिज्य संघकै कार्यालय अगाडि चिया पसल सञ्चालन गर्दै व्यवसायमा प्रवेश गरेकी उनले त्यसक्रममा व्यवसायीका दैनिक समस्या र बजारको अवस्थालाई नजिकबाट बुझ्ने अवसर पाइन्।
त्यसपछि महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सञ्चालन गर्दै उनले आफ्नो व्यवसाय विस्तार गरिन्। पार्लर व्यवसायलाई हेर्ने सामाजिक दृष्टिकोण सहज नरहेको समयमा पनि त्यसलाई चुनौतीका रूपमा स्वीकार गर्दै अघि बढेकी गौतम अहिले सुप्रिम सप्लायर्स मार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि तथा ग्रोसरीलगायत विभिन्न व्यवसायमा संलग्न छिन्।
संघमा उनको औपचारिक प्रवेश विसं २०७३ सालमा साधारण सदस्यका रूपमा भएको थियो। तत्कालीन अध्यक्ष पवनकुमार प्रजापतिको प्रेरणाबाट संघमा जोडिएकी गौतमले त्यसपछि विभिन्न जिम्मेवारी सम्हाल्दै नेतृत्व तहसम्मको यात्रा तय गरेकी हुन्।
व्यवसायसँगै उनी मानव सेवा आश्रम, लायन्स क्लब तथा विभिन्न सामाजिक संस्थामा समेत आबद्ध रहँदै आएकी छन्।
‘सुदृढ संघ, सक्षम नेतृत्व’को प्रतिबद्धता
यसपटकको महाधिवेशनमा गौतमले ‘सुदृढ संघ, सक्षम नेतृत्व’ भन्ने नारासहित १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी थिइन्।
अब ती प्रतिबद्धतालाई कार्यान्वयन गर्दै निजी क्षेत्रका व्यवसायीका समस्या, उद्योग–व्यवसाय प्रवर्द्धन तथा संघको संस्थागत भूमिकालाई कसरी अघि बढाउने भन्ने विषय उनको नेतृत्वका प्रमुख कार्यक्षेत्र हुनेछन्।
पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलो महिला अध्यक्षका रूपमा निर्वाचित गौतमको आगामी दुईवर्षे कार्यकाललाई निजी क्षेत्र र व्यवसायी समुदायले चासोका साथ हेरेका छन्।


