मादी, कास्की।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं १ अन्तर्गत मादी गाउँपालिकामा पार्टीप्रतिको आकर्षण र सांगठनिक व्यापकता तीव्र रूपमा बढेको छ। यसै क्रममा मादी गाउँपालिका वडा नं ८ स्थित रबै डाँडामा आयोजना गरिएको ऐतिहासिक वडा अधिवेशन उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको छ।
श्रवण राज जमर्कट्टेल संयोजक र समन्त मनि सुवेदी सदस्य रहेको अधिवेशन समितिको सक्रियतामा सम्पन्न उक्त अधिवेशनले युवराज गुरुङको सभापतित्वमा वडा नं ८ को नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपसभापतिमा कृष्ण प्रसाद आचार्य, सचिवमा पूजन पौडेल तथा सदस्यहरूमा मिना आचार्य, राज कुमार वि.क, पूर्ण प्रसाद चापागाइँ, रविलाल सुवेदी र चित्र बहादुर भण्डारी चयन हुनुभएको छ।
यसैबीच, मादी गाउँपालिकामा रास्वपाको सांगठनिक संरचनालाई अझ सशक्त र सुदृढ बनाउने उद्देश्यका साथ मादी वडा नं९ को मुरीबेँसीमा आयोजित आम भेलाबाट वडा नं ९ को सम्पर्क समिति समेत गठन गरिएको छ। यसले मादीका विभिन्न वडाहरूमा रास्वपाको पहुँच र संगठनलाई तल्लो तहसम्म विस्तार गर्न ठूलो बल पुर्याएको छ।
कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा केन्द्रीय सदस्य शिव नेपालीले सम्बोधन गर्दै देशमा सुशासन, समृद्धि र आम नागरिकको अधिकार सुनिश्चित गर्न रास्वपाको विकल्प नरहेको बताउनुभयो। सम्बोधनका क्रममा प्रमुख अतिथि नेपालीले भन्नुभयो, आज गाउँ-गाउँ र बस्ती-बस्तीबाट आम नागरिकहरू परिवर्तनको पक्षमा गोलबद्ध भइरहेका छन्। मादी गाउँपालिकामा जनताको यो अपार उत्साह, विश्वास र सहभागिताले रास्वपाप्रतिको साँचो जनलहरलाई प्रस्ट पारेको छ। अब वडा र पालिका तहका नयाँ नेतृत्वले स्थानीय समस्या समाधान गर्दै जनताको भरोसालाई थप उचाइमा पुर्याउनेछन्।
कार्यक्रममा कास्की जिल्ला सचिव विश्वराज पौडेल, जिल्ला सदस्य श्याम गुरुङ र गण्डकी प्रदेशका निवर्तमान सदस्य श्रीकृष्ण न्यौपाने,मादी गाउँपालिका संयोजक पदमराज पौडेल लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।
क्षेत्र नं १ का निर्वाचन संयोजक श्रवण राज जमर्कट्टेलले मार्दीसेती डटकमलाई जानकारी दिँदै मादी गाउँपालिकाका विभिन्न वडाहरूमा रास्वपाप्रतिको जनआकर्षण निकै माथि पुगेको र वडा अधिवेशन तथा सम्पर्क समिति गठनले पार्टी सुदृढीकरण अभियानमा ऐतिहासिक इँटा थपेको बताउनुभयो।

