चौथो माछापुच्छ्रे कप २०८३ को आय–व्यय सार्वजनिक

Headlines अर्थ खेलकुद

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोकस्थित महेन्द्र  माध्यमिक विद्यालयको खेलमैदानमा भव्य रूपमा सम्पन्न “चौथो माछापुच्छ्रे कप २०८३” फुटबल प्रतियोगिता को आय–व्यय विवरण औपचारिक रूपमा सार्वजनिक गरिएको छ। खेलकुदलाई केवल प्रतिस्पर्धामा सीमित नराखी पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने उद्देश्यसहित आर्थिक विवरण सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

उक्त सार्वजनिक कार्यक्रम माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ४ का अध्यक्ष मधुसूदन अधिकारी विशेष अतिथि रहनुभएको थियो।

आय–व्यय सार्वजनिक कार्यक्रमको अध्यक्षता पवन शर्मा अधिकारीले गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सहयोगदाता, प्रायोजक तथा स्वयंसेवकहरूलाई सम्मान समेत गरिएको थियो। आयोजक समितिका अनुसार पूर्व अध्यक्ष उमेश बास्तोला लगायत सहयोगी व्यक्तित्वहरूको योगदानले प्रतियोगितालाई सफल, व्यवस्थित र भव्य बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

सार्वजनिक गरिएको विवरणअनुसार प्रतियोगिताको कुल आम्दानी रु. १४,५०,००० रहेको छ भने कुल खर्च रु. १०,३५,५७७ भएको छ। यसबाट प्रतियोगितामा रु. ४,१४,४२३ बचत भएको जानकारी सचिव सुशील श्रेष्ठले दिनुभएको हो।

आयोजकहरूले सार्वजनिक रूपमा आर्थिक विवरण प्रस्तुत गर्दै खेलकुद कार्यक्रमहरूमा पारदर्शिता अनिवार्य रहेको उल्लेख गरेका छन्। बचत भएको रकम आगामी खेलकुद विकास तथा सामाजिक गतिविधिमा उपयोग गरिने समेत बताइएको छ।

स्थानीयस्तरमा युवा सहभागिता, खेलकुद विकास र सामाजिक एकताको सशक्त सन्देश दिँदै चौथो माछापुच्छ्रे कप २०८३ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।