पोखरा । नेपाली कांग्रेसको संगठन, पत्रकारिता तथा कानुनी क्षेत्रमा लामो समयदेखि सक्रिय अधिवक्ता सरिता तिम्सिना पगेनीले खस–आर्य महिला तर्फबाट नेपाली कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
पोखरा–३ बाट क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि बनेर पार्टीको सांगठनिक जिम्मेवारी निर्वाह गर्दै आएकी पगेनीले यसपटक केन्द्रीय नेतृत्वमा आफ्नो उपस्थिति जनाउने उद्देश्यसहित उम्मेदवारी दिएकी हुन्।
कांग्रेसको क्रियाशील सदस्यबाट राजनीतिक यात्रा सुरु गरेकी पगेनीले वडा सचिव, क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिका रूपमा पार्टी संगठनमा जिम्मेवारी सम्हालिसकेकी छन्। पार्टीभित्रको आफ्नो लामो सक्रियता, सांगठनिक अनुभव र निरन्तर योगदानलाई आधार बनाउँदै उनले खस–आर्य महिला समुदायको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताएकी छन्।
व्यावसायिक रूपमा अधिवक्ता रहेकी पगेनी नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनकी पूर्व केन्द्रीय सदस्य समेत हुन्। साथै उनी गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद् सदस्य, नेपाली कांग्रेस कास्कीको प्रशिक्षण विभाग सदस्य तथा डेमोक्रेटिक लयर्स एसोसिएसन ९डीएलए० कास्कीकी सदस्यका रूपमा समेत क्रियाशील रहँदै आएकी छन्।
विभिन्न निर्वाचनमा पार्टीका तर्फबाट महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेकी पगेनीले महिला सशक्तीकरण, नेतृत्व विकास, कानुनी जागरूकता, संगठन सुदृढीकरण र समावेशी नेतृत्वलाई आफ्नो प्राथमिकताको विषय बनाएकी छन्।
पगेनीले भनिन्, “स्थानीय तहदेखि केन्द्रीय तहसम्म महिलाको अर्थपूर्ण र प्रभावकारी नेतृत्व स्थापित हुनुपर्छ। पोखरा–३ बाट क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त अनुभवलाई अब केन्द्रीय तहमा उपयोग गर्दै पार्टी र संगठनका लागि थप योगदान गर्ने उद्देश्यले खस–आर्य महिला तर्फबाट उम्मेदवारी दिएकी हुँ।”
उनले कास्की क्षेत्र नं। ३ का क्षेत्रीय प्रतिनिधिहरूको साथ, सहयोग र अमूल्य मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएकी छन्।
पोखरा–३ बाट क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिसम्मको सांगठनिक यात्रा तय गरेकी पगेनीको खस–आर्य महिला तर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवारीसँगै कास्की क्षेत्र नं। ३ को कांग्रेस राजनीतिमा महिला नेतृत्वको बहस थप चासोपूर्ण बनेको छ।

