पोखरा –१८, सराङकोटस्थित सौर्यखोला आमा समूहद्वारा दैवी प्रकोप उद्धार कोषमा २० हजार सहयोग

समाचार
पोखरा । देशमा आएको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै पोखरा महानगरपालिका–१८, सराङकोटस्थित सौर्यखोला आमा समूह, प्रस्याङ हाइटले मानवीय उदाहरण प्रस्तुत गरेको छ।समूहले यस वर्षको तीजमा रमाइलो तथा कार्यक्रमका लागि संकलन गरेको रकममध्ये रु. २० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो।
देशका विभिन्न क्षेत्रमा विपद्का कारण नागरिकहरू पीडामा रहेका बेला आफूहरू मात्रै उत्सव मनाएर खुसी हुन नसकिने भन्दै समूहले तीज कार्यक्रमका लागि छुट्याइएको रकम विपद् प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
कोषाध्यक्ष सदिक्षा भण्डारीका अनुसार ‘थोपा–थोपा सहयोगले पनि ठूलो अर्थ राख्छ’ भन्ने मान्यताका साथ उक्त सहयोग गरिएको हो। आफ्नो खुसीमा खर्च गर्ने रकम विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीको दुःखमा साथ दिन प्रयोग गर्नु नै अहिलेको अवस्थामा सच्चा मानवता भएको समूहको भनाइ छ।
सहयोग अभियानमा सहभागी सौर्यखोला आमा समूहका सम्पूर्ण आमा, दिदीबहिनी तथा सहयोगीहरूलाई धन्यवाद तथा उच्च सम्मान व्यक्त गरिएको छ।
समूहले विपद्को समयमा सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै “विपत्तिमा साथ दिऔँ, मानवता जोगाऔँ” भन्ने सन्देशसमेत दिएको छ।