पोखरा -२५ हेम्जाका ३२ टोल एकजुट, रसुवा विपद् पीडितका लागि रु. ६,८४,९४० सहयोग-Mardiseti.com

समाचार होमपेज
पोखरा, भाद्र १९। रसुवाको भोटेकोशी क्षेत्रमा भाद्र १० गते आएको विनाशकारी हिमपहिरो तथा विपद्मा परी जनधन र आफन्त गुमाएका तथा उपचाररत पीडितका लागि सहयोग जुटाइएको छ।
विषम परिस्थितिमा पीडितको साथमा उभिनुपर्छ भन्ने भावनाका साथ ‘अहिले नगरे कहिले गर्ने ?’ भन्ने मान्यतालाई आत्मसात् गर्दै टोल विकास संस्था समन्वय समिति, पोखरा महानगरपालिका–२५ को पहलमा वडाभित्रका ३२ वटै टोल विकास संस्थाको सहकार्यमा आर्थिक राहत संकलन अभियान सञ्चालन गरिएको हो।
संकलित रकम ६,८४,९४० प्रधानमन्त्री विपद् उद्धार राहत कोषअन्तर्गत नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरिएको टोल विकास संस्था समन्वय समिति पोखरा–२५ का अध्यक्ष दीपक थापाले मर्दिसेती डटकमलाई जानकारी दिनुभयो।अध्यक्ष थापाले ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ सञ्चालन गरिएको अभियानमा साथ दिने सम्पूर्ण टोल विकास संस्था, सहयोगी दाता तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विपद्को समयमा गरिएको सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो अर्थ राख्ने बताउँदै आगामी दिनमा पनि सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

संकटमा टोल विकास संस्था : समाजसेवामा निरन्तर योगदान

पोखरा–२५ मा रहेका टोल विकास संस्थाहरू केवल टोलको भौतिक विकास र स्थानीय व्यवस्थापनमा मात्र सीमित नभई विपद्, दुःख र संकटका समयमा समुदायलाई जोड्ने सामाजिक संस्थाका रूपमा समेत सक्रिय हुँदै आएका छन्।
रसुवा विपद्का पीडितका लागि ३२ वटै टोल विकास संस्थालाई एउटै अभियानमा जोडेर राहत संकलन गर्नुले स्थानीय तहमा संगठित नागरिक सहभागिता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
विपद् पर्दा सरकारको मात्र मुख नताकी समुदाय आफैं पनि पीडितको साथमा उभिन सक्छ भन्ने सन्देश यस अभियानले दिएको छ। टोल विकास संस्था समन्वय समितिको यो पहलप्रति मर्दिसेती डटकम पनि सम्मान व्यक्त गर्दछ। संकटमा सहयोग गर्ने संस्कार, सामाजिक सेवामा निरन्तरता र समुदायबीचको एकतालाई अझ बलियो बनाउने यस्ता अभियानहरू निरन्तर अघि बढ्न आवश्यक छ।