अम्बिका माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव सम्पन्न

शिक्षा समाचार

 

हेमजा । कास्की पोखरा महानगरपालिका वडा न.२५ हेमजा सुई खेतमा स्थापित अम्बिका माध्यमिक विद्यालयले बिहीबार ५८ औँ वार्षिकोत्सव, अभिभावक दिवस एव पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्यले अम्बिकाले आफ्नो शैक्षिक गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान दिँदै यस क्षेत्रकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित गर्न सफल भएको बताए । अहिले जुन रफ्तारमा विद्यालय छ ,उक्त गतिलाई अझ मजबुत बनाउँदै अगाडी बढ्नेमा आफू विश्वस्त रहको बताउँदै शैक्षिक मात्र नभएर भौतिक रूपमा पनि छलाङ मार्दै गएको थप उल्लेख गरे ।

कार्यवहाक वडा अध्यक्ष सुवास भण्डारीले शिक्षा प्रेमी सरोकरवालाहरुको  महत्त्वपूर्ण भूमिका रहेकै कारण आज अम्बिका उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित हुन सफल रहको बताए ।

विद्यालयका प्रधानाध्यापक ओमप्रसाद पौडेलले शिक्षालाई प्रविधि सँगै ,व्यवाहारी शिक्षण सिकाई अवलम्बन गरेको बताए । शिक्षालाई थप प्रभावकारी बनाउन विभिन्न कक्षा कोठामा सिसिटिभी तथा प्रोजेक्टर जडान गरिएको कार्यक्रमका बिच जानकारी दिए ।

 सोही कार्यक्रमका बिच वर्ष विद्यार्थीबाट रोशन बुढाथोकी र वर्षा पुन, वर्ष अभिभावकबाट सूर्य परियार, वर्ष शिक्षकबाट चन्द्रमा पौडेल, आशिष् बास्तोला र किरण शर्मा पौडेल, स्वास्थ्य सेवामा योगदान दिने दीपेन्द्र अधिकारी(दीप), एसइई उत्तीर्ण विद्यार्थी तथा विभिन्न विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गर्न सफल पूर्व विद्यार्थीलाई करुवा र दोसल्ला सहित सम्मान गरियो। त्यस्तै आफ्नो विषयमा सत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरू ओमप्रसाद पौडेल, इन्दप्रसाद्र दाहाल, उपेन्द्र अधिकारी, आशिष् बास्तोला, अपार भण्डारी, मैयाँ बस्नेत, लिलाधर अधिकारी, सुदिप दाहाल, रोसन सुवेदी लगायत सम्मानित भए ।

कार्यक्रमका बिच २२ वटा छात्रवृत्ति, वार्षिक शैक्षिक, अतिरिक्त एवम् खेलकुद तर्फका पुरस्कार वितरण संगै  विज्ञान तथा प्रविधि प्रदर्शनी गरियो।

विद्यालय अध्यक्ष  देवीप्रसाद  अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक मीना सापकोटाले  स्वागत तथा सहायक प्रधानाध्यापक उपेन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गरे।

नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालित विद्यालयमा साधारणका अलावा प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ–१२० को पठनपाठन हुँदै आइरहेको छ ।  कुल ७ सय १६ विद्यार्थी रहेको विद्यालयमा हाल ३४ शिक्षक कर्मचारी कार्यरत छन् ।