पोखरा । माछापुच्छ्रेका सूर्यबहादुर गुरुङले स्थानीयस्तरमा जलविद्युत् आयोजनाले प्राकृतिक स्रोतको अनियन्त्रित दोहन गरेको गुनासो पालिकालाई सुनाए । ‘आयोजनाले अनुमतिबिना मनपरी रुख कटान गरेको छ, संवेदनशील ठाउँमा ब्लास्टिङ गर्दा तातोपानी कुण्ड जोखिममा परेको छ,’ उनले भने, ‘बाढीको पूर्वसूचना दिन साइरन प्रणाली जडान गर्न बारम्बार आग्रह गर्दा पनि सुनुवाइ भएन । हाइड्रोले जथाभावी पानी छोड्दा नदी किनारका नागरिक जोखिममा परेका उनको भनाइ छ ।
अर्का स्थानीय केदारनाथ भण्डारीले जलविद्युत् आयोजनाले मुआब्जा वितरणमा भेदभाव गरेको र सहमतिअनुसारका शर्तहरू पालना नगरेको गुनासो गरे । ‘कसैलाई मुआब्जा दिइएको छ, कसैलाई दिइएको छैन । नियमअनुसार काम भएको छैन,’ उनले भने, ‘कति टक प्रशासनलाई खबर गरिएको छ । पालिकालाई पनि गुनासो गरेको हो । सुनुवाइ कसैले गरेन । अब त आवाज उठाउने ठाउँ पनि छैन ।’
पालिकाका अनुसार १२ वटा हाइड्रोपावर निर्माण चरणमा छन् ।
पालिकाभित्र निर्माण भएका र निर्माणाधीन हाइड्रोका कारण स्थानीय मात्रै होइन, पालिका सरकार पनि आजित भएको छ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले आयोजनाले पालिकासँग कुनै समन्वय नगरेको आरोप लगाइन् । भिजन लुम्बिनी हाइड्रोपावरले स्थानीय स्रोत साधनको प्रयोग गरेबापत पालिकालाई तिर्नुपर्ने राजस्व वन मन्त्रालयमा तिरेको उनको गुनासो छ । उक्त हाइड्रोले १ करोड १६ लाख रुपैयाँ पालिकालाई बाइपास गरेर सुटुक्क संघ सरकारमा जम्मा गरी दिएको हो ।
‘हाम्रो ढुंगा, गिट्टी, बालुवा र नदीजन्य पदार्थ प्रयोग गरेबापतको राजस्व हाम्रो पालिकाको खातामा आउनुपर्छ,’ उनले भनिन्, ‘नेपालको कानूनमा यस्ता राजस्व पालिकाकै खातामा जम्मा हुनुपर्ने उल्लेख छ । तर हामीलाई अटेर गरियो ।’
स्थानीयहरुले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको दबाबमा उक्त रकम संघमा गएको आरोप लगाएका छन् । एक्यापका प्रतिनिधि लेखनाथ गौतमले राजस्व एक्यापले नभई संघीय सरकारको राष्ट्रिय निकुञ्ज विभागको खातामा जम्मा हुने र पछि वित्त आयोगमार्फत बाँडफाँट हुने बताए । यद्यपि, स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले स्थानीय स्रोतमा पहिलो अधिकार स्थानीय सरकारको हुनुपर्ने बताएका छन् ।
अहिले माछापुच्छ्रेमा दर्जनौं हाइड्रो निर्माण चरणमा छन् । तर पालिका र स्थानीयसँग समन्वय नभएको गुनासो व्यापक छ । पालिकाका अनुसार १२ वटा हाइड्रोपावर निर्माण चरणमा छन् । राजस्वका विषय पेचिलो बनेपछि नियमनका लागि पालिकासँग पार्टीका प्रतिनिधिहरुले पनि आग्रह गरेका छन् । नेपाली काँग्रेसका गाउँपालिका सभापति वीरेन्द्र गुरुङले समस्याको दिगो समाधानका लागि गाउँपालिकाले ‘ऊर्जासम्बन्धी विधेयक’ ल्याउनुपर्ने सुझाव दिए । ‘स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रभित्र रहेर नीति र ऐन बनाउन सक्छ । यसो गर्दा कुन आयोजनाले कति कर तिर्ने, त्यसको नियमन कसरी गर्ने भन्ने स्पष्ट हुन्छ र जनप्रतिनिधिमाथि लाग्ने आरोप पनि अन्त्य हुन्छ,’ उनले भने ।
माओवादी केन्द्रका अध्यक्ष गोपाल पोखरेल पनि हाइड्रोका कारण स्थानीय बासिन्दाले दुःख पाएका भन्दै कडा कदम चाल्नुपर्ने सुझाव दिन्छन् । ‘न पालिकालाई टेरेको छ, न जनतालाई टेर्छ । निजी जग्गामा मनपरी गरिएको छ,’ उनले भने, ‘तुरुन्त पालिकाले पार्टीका प्रतिनिधि मण्डल बनाएर डेलिगेसन जाने र कानूनी उपचार खोज्नुपर्छ ।’ नेकपा एमालेका सचिव ऋषि गौतम पनि हाइड्रोबाट पालिकाका नागरिकले कुनै लाभ लिन नपाएका उल्टै दुःख झेल्नुपरेकोमा ध्यानाकर्षण गराए । ‘यति धेरै हाइड्रो बनिरहेका छन् । पालिकावासीले कुनै लाभ किन पाएका छैनन् ?,’ उनले भने, ‘अधिकतम लाभ लिने गरी विधि बनाउनुपर्छ । दलहरु सघाउन तयार छौं ।’
शुक्रबार धिप्राङमा आयोजित सार्वजनिक सुनुवाइमा नागरिक र दलका प्रतिनिधिले महत्वपूर्ण सुझाव र गुनासा राख्दै नीतिगत सुधारको माग गरे । गाउँपालिका र वडा कार्यालयले प्रगति विवरण प्रस्तुत गरे । माछापुच्छ्रेले आर्थिक वर्ष २०८१/८२ को कुल बजेट ६५ करोड ६५ लाख बजेट कार्यान्वयन गरेकोमा ८०.५६ प्रतिशत खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए ।
माछापुच्छ्रे प्रवेशद्वारदेखि चोरखोल्सासम्मको सडक अलपत्र परेको, वडा १ को छिवाङमा खानेपानीको मुहान फोहोर भएको, ग्रामीण सडकहरू व्यवस्थित नभएको, सार्वजनिक शौचालय र प्रतीक्षालयको अभाव रहेको जस्ता विषय उठाएका थिए । मिर्सा र रुम्जाजस्ता पर्यटकीय गाउँबाट युवा पलायन रोक्न ठोस कार्यक्रम ल्याउनुपर्ने र विद्यार्थीका लागि बस सेवा सहज बनाउनुपर्ने माग पनि राखिएको थियो ।
कार्यक्रममा क्रसर उद्योगबाट उठ्नुपर्ने ४९ करोड राजस्व उठाउन नसकेको, विद्यालय मर्जर गर्नुपर्ने, वैज्ञानिक भू–वर्गीकरण र सार्वजनिक जग्गा संरक्षणमा पालिकाले प्रस्ट काम गर्नुपर्ने सुझाव दिए । उठेका प्रश्नमा पालिका उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी, वडाध्यक्षहरु इन्द्र गुरुङ, हरिशचन्द्र लम्साल, एक्याप ल्वाङका प्रमुख लेखनाथ गौतमलगायतले जवाफ दिएका थिए ।

