हेमजा आगामि वर्षदेखि साहित्य महोत्सव हुने

साहित्य

पछिल्लो पटक महोत्सवमय बन्दै गएको हेमजामा चाँडै नै साहित्य महोत्सव पनि हुने भएको छ ।यद्यपि त्यसको समय भने एकिन भएको छैन ।

राष्ट्रिय हेमजा आलु, रोपाइँ-हिले, मौरी महोत्सव हुँदै आएको हेमजामा आगामि वर्षदेखि साहित्य महोत्सव पनि थपिने भएको हो ।जसको अगुवाई हेमजा साहित्य प्रतिष्ठानले गरेको छ ।

प्रतिष्ठानको आयोजनामा शनिवार भएको नागरिक भेलाले महोत्सव सम्पन्न गर्न उपाध्यक्ष छन्दमणि त्रिपाठीको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । जसको महासचिवमा शिव त्रिपाठी, कोषाध्यक्षमा बलराम पौडेल तथा सहकोषाध्यक्षमा सोमनाथ गौतम -आक्रान्त, आरती अधिकारी र रीता थापा चयन भए ।अन्य पदाधिकारी तथा सदस्य पछि थप गरिने उल्लेख छ ।भेलाले हेमजामा जन्मेका कवि मुकुन्दशरण उपाध्यायको रथारोहण सहित नागरिक अभिनन्दन गर्ने निर्णय पनि गरेको छ।

भेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिम्सिनाले हेमजा महोत्सवमय बन्दै गएकोमा खुशी व्यक्त गर्दै हेमजालाई चिनाउन साहित्यकर्मीको भूमिका पनि महत्वपूर्ण रहेको सुनाए ।उनले कवि मुकुन्दशरणको अभिनन्दन समग्र पोखरेलीको सम्मान भएको स्पष्ट पार्दै त्यसलाई महानगरले अपनत्व लिने प्रतिबद्धता जनाए ।

साहित्य महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाउने विश्वास दिलाउँदै प्रवक्ता तिम्सिनाले सम्मान गर्ने संस्कार विकास गरेकोमा प्रतिष्ठान प्रति धन्यवाद दिए।
साहित्यकार माधव वियोगीले महोत्सवको अवधारणा ल्याएकोमा प्रतिष्ठान प्रति आभार जनाउँदै मुकुन्दशरण, लक्ष्मीशरण तथा जर्नादनशरणले हेमजा चिनाउन भूमिका खेलेको स्पष्ट पारे।

साहित्यकार डा।यमबहादुर पौडेलले महोत्सवसँगै हेमजाको उचाई बढ्ने विश्वास दिलाउँदै भाषा विकसित हुनुपर्ने र विकसित भाषाको पछि वक्ता लाग्ने स्पष्ट पारे।
प्रतिष्ठान संस्थापक सचिव कोविदशरण उपाध्यायले मुकुन्दशरण हेमजामा जन्मिएर पनि समग्र नेपालीका आस्थाका धरोहर रहेको उल्लेख गर्दै हेमजालाई साहित्यीक तीर्थस्थल बनाउनुपर्ने औँल्याए ।

त्यस अवसरमा साहित्यकार छवि सुवेदी, पूर्व वडाध्यक्ष शोभाकर तिम्सिना, एमाले पोखरा २५ का अध्यक्ष रुद्रनाथ पौडेल, हेमजा सञ्चार सहकारीकी अध्यक्ष विष्णु बास्तोला, प्रतिष्ठानका पूर्व उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, गौरीशंकर क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल, स्थानीय देवी अधिकारी लगायतले पनि धारणा राखे ।उनीहरुले साहित्य महोत्सवको सार्थकता औँल्याए।

प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत छन्दिका त्रिपाठीले ,सहजीकरण उपाध्यक्ष छन्दमणि त्रिपाठी गरे ।