पोखरा । कुनै समय आफैंले भोगेको बाढीको पीडा सम्झिँदै माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलावासीले अहिले देशका विभिन्न जिल्लामा विपद्मा परेका नागरिकका लागि मानवीय सहयोगको हात अघि बढाएका छन्।
रसुवा लगायत विभिन्न जिल्लामा आएको अकल्पनीय प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि वडा कार्यालयको समन्वयमा सञ्चालन गरिएको राहत संकलन अभियानबाट रु ७ लाख ९३ हजार ७ सय ७५ संकलन भएको छ।
सार्दिखोलावासीका लागि बाढीको पीडा केवल सुनेको कथा होइन, आफ्नै आँखाले देखेको र भोगेको दुःख हो। वि.सं.२०६९ जेठ १९ गते सार्दिखोलाको तातोपानी बजार क्षेत्रमा सेती नदीमाथिको हिमताल फुटेर आएको विनाशकारी बाढीको पीडा आज पनि यहाँका नागरिकको स्मृतिमा ताजै छ।त्यही पीडाको सम्झनाले अहिले देशका अन्य भूभागका नागरिक विपद्मा पर्दा सार्दिखोलावासीको मन पनि चुप बस्न सकेन।
माछापुच्छ्रे गाउँपालिका–२ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका गणेश आचार्यले विगतमा आफूहरूले भोगेको बाढीको पीडा सम्झँदै विपद्मा परेका नागरिकको सहयोगका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो।
“हामीले पनि विगतमा बाढीको पीडा आफ्नै आँखाले देखेका र भोगेका छौँ। त्यसैले अहिले रसुवा लगायतका जिल्लामा विपद्मा परेका नागरिकको दुःखमा सकेको सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाले राहत संकलन अभियान सञ्चालन गरेका हौँ,” आचार्यले भन्नुभयो।
वडा कार्यालयको अनुरोधलाई आत्मसात् गर्दै वडा नं। २ का १७ वटा टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह तथा विभिन्न संघ–संस्था अभियानमा जोडिएका थिए। स्थानीय नागरिक तथा विभिन्न सामाजिक संस्थाको सहयोगबाट रकम संकलन गरिएको हो।
आचार्यका अनुसार संकलित रु७ लाख ९३ हजार ७ सय ७५ रकम जम्मा भइसकेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी वडा कार्यालयले सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्य र संस्थाका कोषाध्यक्ष विपुल शर्मालाई हस्तान्तरण गरको थियो । उहाँले राहत रकमको आकारभन्दा पनि त्यसमा जोडिएको मानवीय भावना महत्वपूर्ण रहेको बताउनुभयो।
“विपद्मा परेका नागरिकको दुःखलाई आफ्नै दुःख सम्झेर स्थानीय तह, सामाजिक संस्था र समुदाय एकजुट भएर सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो,” आचार्यले भन्नुभयो, “यस अभियानमा साथ दिनुहुने सबै टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह, संघ–संस्था तथा सहयोगदाताप्रति वडा कार्यालय हार्दिक आभार व्यक्त गरेको छ।”
सहयोगसँगै पारदर्शिताको उदाहरण
राहत संकलन अभियानमा पारदर्शिता कायम गर्न वडा कार्यालयले संकलित रकम तथा सहयोगसम्बन्धी सम्पूर्ण विवरण सम्बन्धित सहयोगदाता तथा स्थानीय नागरिकको उपस्थितिमा डिजिटल प्रोजेक्टरमार्फत सार्वजनिक गरेको जनाएको छ।
सहयोग गर्ने व्यक्ति, टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह तथा विभिन्न संघ–संस्थाको नाम, सहयोग रकम र विवरणसमेत वडा कार्यालयले व्यवस्थित रूपमा अभिलेख राख्ने जनाएको छ।
आचार्यका अनुसार यो अभिलेख रकमको हिसाब राख्ने दस्तावेज मात्र नभई समुदायले विपद्को समयमा देखाएको एकता, सद्भाव र मानवीयताको इतिहास समेत हुनेछ।
“आज हामीले गरेको सहयोग अहिलेको विपद्का लागि मात्र होइन, भावी पुस्ताका लागि पनि एउटा ऐतिहासिक दस्तावेज बन्नेछ। भोलिका दिनमा देशमा कुनै पनि विपद् पर्दा समुदाय मिलेर सहयोग गर्नुपर्छ भन्ने प्रेरणा यसले दिनेछ,” उहाँले भन्नुभयो।
राहत संकलनदेखि रकम हस्तान्तरणसम्मको सम्पूर्ण प्रक्रिया सार्वजनिक रूपमा गरिएको भन्दै वडा कार्यालयले पारदर्शितालाई आफ्नो प्रमुख दायित्वका रूपमा लिएको जनाएको छ।
कार्यक्रमको सञ्चालन राहत अभियानका अर्थ संयोजक तथा वडा सदस्य इनबहादुर तामाङले गर्नुभएको थियो। उहाँले अभियानमा साथ दिने सम्पूर्ण टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह, संघ–संस्था तथा सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्दै विपद्को समयमा सार्दिखोलावासीले देखाएको एकता, सहयोग र मानवीय भावनाको प्रशंसा गर्नुभयो।
सार्दिखोलाले फेरि एउटा सन्देश दिएको छ—विपद्को पीडा जहाँको भए पनि पीडा साझा हो, र दुःखमा दिइएको साथ नै मानवताको सबैभन्दा ठूलो परिचय हो।


