पोखरा । पोखरा महानगरपालिका–२५ हेमजा, मेलबोटमा स्थानीय नागरिकको स्वास्थ्य र शारीरिक सक्रियतालाई लक्षित गरी निर्माण गरिएको खुल्ला व्यायामशाला अहिले प्रयोगविहीन बन्दै गएको छ। निर्माणका क्रममा देखिएको उत्साह र सक्रियता केही समयमै हराउँदै जाँदा व्यायामशालामा राखिएका विभिन्न सामग्रीसमेत बिग्रिन थालेका छन्।
व्यायामशाला सञ्चालनमा आएको करिब दुई वर्षसम्म नियमित रूपमा प्रयोगमा आए पनि त्यसपछि भने प्रभावकारी सञ्चालन हुन नसकेको स्थानीयको भनाइ छ। व्यायामशाला सञ्चालन र व्यवस्थापनमा आवश्यक ध्यान पुग्न नसक्दा सार्वजनिक लगानीबाट निर्माण गरिएका सामग्री संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्।
यति लामो समयसम्म व्यायामशाला प्रयोगविहीनजस्तै अवस्थामा रहँदा पनि यसको संरक्षण, मर्मतसम्भार र पुनः सञ्चालनका लागि सम्बन्धित निकायबाट अपेक्षित चासो नदेखिएको भन्दै स्थानीय नागरिकहरूले प्रश्न उठाउन थालेका छन्।
मेलबोट क्षेत्र मर्दी हिमाल पदयात्रा मार्गको प्रस्थान बिन्दुसमेत रहेको र पछिल्लो समय यस क्षेत्रमा बिहान–बेलुका नियमित रूपमा शारीरिक व्यायाम तथा ‘मर्निङ वाक’ गर्ने नागरिकको संख्या बढ्दै गएको छ। स्वास्थ्यप्रति सचेत नागरिक र युवाहरूको दैनिक आवागमन बढिरहेको क्षेत्रमा सार्वजनिक रूपमा उपलब्ध व्यायामशाला भने प्रयोगविहीन अवस्थामा रहनुले स्थानीयलाई झस्काएको छ।
स्थानीय नागरिकको प्रश्न छ—स्वास्थ्य र शारीरिक व्यायामका लागि निर्माण गरिएको सार्वजनिक व्यायामशाला यति लामो समयसम्म प्रयोगविहीन हुँदा यसको संरक्षण र सञ्चालनको जिम्मेवारी कसले लिनेरु
नागरिकहरूले पोखरा महानगरपालिका–२५ वडा कार्यालय तथा सम्बन्धित टोल विकास संस्थाको समेत ध्यानाकर्षण गराउँदै व्यायामशालाको वर्तमान अवस्थाबारे आवश्यक अनुगमन गरी मर्मतसम्भार तथा व्यवस्थापनको प्रक्रिया अघि बढाउन र लामो समयदेखि प्रयोगविहीन बनेको व्यायामशालालाई पुनः नियमित रूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल गर्नुपर्ने बताएका छन्।
विशेषगरी युवाहरूले सार्वजनिक संरचना निर्माण गर्नु मात्र पर्याप्त नभई त्यसको नियमित सञ्चालन, संरक्षण र उपयोग सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन्। स्थानीयस्तरमा निर्माण भएका यस्ता संरचनालाई बेवास्ता गर्दा सार्वजनिक लगानी खेर जाने अवस्था आउन सक्ने उनीहरूको भनाइ छ।
अब सम्बन्धित वडा कार्यालय, टोल विकास संस्था र स्थानीय सरोकारवालाबीच आवश्यक समन्वय गरी व्यायामशालालाई पुनः सञ्चालनमा ल्याउन पहल हुने अपेक्षा गरिएको छ।
मेलबोटमा बिहान–बेलुका व्यायाम तथा मर्निङ वाक गर्ने नागरिकको संख्या बढिरहेका बेला प्रयोगविहीन बनेको यो व्यायामशालालाई पुनः जीवन्त बनाउन सके स्वास्थ्य प्रवर्द्धनसँगै सार्वजनिक संरचनाको सदुपयोगसमेत हुने देखिन्छ। अब वडा कार्यालय र सम्बन्धित टोल विकास संस्थाले यस विषयमा कति छिटो चासो देखाउँछन्, त्यो भने हेर्न बाँकी छ।

