लाहाचोकमा ‘वडा अध्यक्ष कप-२०८३’ को तयारी पूरा : भोलि झाँकीसहित भव्य उद्घाटन हुने

Headlines खेलकुद

लाहाचोक (कास्की) — कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोकमा सञ्चालन हुन लागेको ‘वडा अध्यक्ष कप-२०८३’ खेलकुद तथा सांस्कृतिक प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

“पर्यटन, कृषि, उर्जा र गुणस्तरीय पूर्वाधार : समुन्नत माछापुच्छ्रे निर्माणको मूल आधार” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस प्रतियोगिताको भोलि असोज २३ गते भव्य रूपमा उद्घाटन गरिने भएको छ।

उद्घाटन समारोह हुनुअघि माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ भित्रका विभिन्न संघ-संस्था, युवा क्लब, टोल विकास समिति तथा आमा समूहहरूको उपस्थितिमा परम्परागत भेषभूषा र सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेछ। उक्त झाँकी तथा र्‍याली वडा कार्यालयदेखि सुरु भई श्री महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानसम्म पुगेर औपचारिक उद्घाटन समारोहमा परिणत हुनेछ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै व्यवस्थापक संस्था माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबका अध्यक्ष पवन शर्मा अधिकारीले भोलि हुने उद्घाटन कार्यक्रममा सांस्कृतिक झाँकीसहित गाउँवासी, खेलप्रेमी तथा स्थानीय सम्पूर्ण संघ-संस्थाहरूको बाक्लो र उत्साहजनक उपस्थिति रहने बताउनुभयो।

यसैगरी, माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसूदन अधिकारीले वडाले भौतिक पूर्वाधार र विकास निर्माणका कामहरूसँगसँगै सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। स्थानीय युवा तथा विद्यार्थीहरूको खेल प्रतिभा प्रवर्द्धन गर्न र समाजमा आपसी सद्भाव कायम राख्नका लागि वडाले यस प्रतियोगिताको आयोजना गरेको उहाँको भनाइ थियो।

प्रतियोगिता र आकर्षक नगद पुरस्कार विवरण:

आयोजकका अनुसार ११ ए साइड फुटबल प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका मातहतका माध्यमिक विद्यालयहरूका लागि आयोजना गरिनेछ भने अन्य सम्पूर्ण खेलहरू लाहाचोक क्षेत्र भित्रका सहभागीहरूका लागि मात्र सञ्चालन गरिनेछ। प्रतियोगिताका विभिन्न विधाहरूमा प्रथम, द्वितीय र तृतीय हुनेहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ:

  • ११ ए साइड फुटबल (मा.वि. स्तरीय): प्रथम पुरस्कार नगद रु. १८,००० र दोस्रो पुरस्कार नगद रु. १२,०००।

  • साविक वडा स्तरीय ७ ए साइड फुटबल: प्रथम पुरस्कार नगद रु. १०,००० र दोस्रो पुरस्कार नगद रु. ७,०००।

  • खुल्ला पुरुष भलिबल: प्रथम पुरस्कार नगद रु. ५,००० र दोस्रो पुरस्कार नगद रु. ३,०००।

  • अन्तर महिला समूह खुल्ला गायन: प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः नगद रु. ६,०००, रु. ४,००० र रु. २,०००।

  • खुल्ला दौड (महिला/पुरुष तर्फ): प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः नगद रु. २,०००, रु. १,००० र रु. ५००।

  • रस्साकस्सी (महिला/पुरुष तर्फ): प्रथम पुरस्कार नगद रु. ३,५०० र दोस्रो पुरस्कार नगद रु. २,५००।

असोज २३ देखि २५ गतेसम्म सञ्चालन हुने यस तीन दिने प्रतियोगितामा श्री महेन्द्र माध्यमिक विद्यालय लाहाचोकको विशेष सहयोग, मर्दीसेती डटकम (MARDISETI.COM) को मिडिया पार्टनर तथा माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्व रहेको छ।

अण्डर १७ विद्यालय स्तरीय फुटबल प्रतियोगिता २०८३ – खेल तालिका (Tie-Sheet)

माछापुच्छ्रे गाउँपालिका स्तरीय अण्डर १७ विद्यालय स्तरीय फुटबल प्रतियोगिता नकआउट (Knockout) ढाँचामा खेलाइनेछ। खेल तालिका र समय निम्न अनुसार रहेको छ:

खेल १: महेन्द्र मा.वि. (सेतो) VS शुक्लागण्डकी मा.वि. — २०८३-०६-२३ (समय: ११:०० AM)

खेल २: शारदा मा.वि. VS बराह मा.वि. — २०८३-०६-२३ (समय: ११:५० AM)

खेल ३: उदय मा.वि. VS महेन्द्र मा.वि. (हरियो) — २०८३-०६-२३ (समय: १:०० PM)

खेल ४ (सेमिफाइनल): विजेता खेल १ VS निष्पक्ष मा.वि. — २०८३-०६-२४ (समय: १२:०० PM)

खेल ५ (सेमिफाइनल): खेल २ को विजेता VS खेल ३ को विजेता — २०८३-०६-२४ (समय: १:०० PM)

खेल ६ (फाइनल): खेल ४ को विजेता VS खेल ५ को विजेता — २०८३-०६-२५ (समय: १:०० PM)