कास्कीको माछापुच्छ्रे गाउँपालिकाले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षण सिकाइमा डिजिटल प्रविधिलाई प्राथमिकता दिएको छ । पालिकाले बुधवार पालिकाका विभिन्न सामुदायिक विद्यालयमा पुगी एम्बिसन गुरु डिजिटल शैक्षिक प्लेटफर्म बारे अनलाइन शिक्षा अभिमुखीकरण तथा मोटिभेसनल कार्यक्रम सम्पन्न गरेको छ ।
एम्बिसन गुरु एउटा डिजिटल शैक्षिक प्लेटफर्म हो । इच्छुक व्यक्ति तथा विद्यार्थीले यसलाई पढ्ने र सिक्ने माध्यमको रूपमा उपयोग गर्न सक्छन् । मोबाइल एप र वेबमा आधारित यो प्लेटफर्म मार्फत आफ्नो शिक्षण सिकाइलाई अगाडी बढाउन सक्दछन् । विद्यालयमा सिकेको कुरामा कुनै प्रकारको अलमल, अस्पष्टता र अन विज्ञता देखिए एम्बिसन गुरु मार्फत सिकाइमा सहजीकरण गर्न सकिन्छ ।
शिक्षालाई पहुँचयोग्य तथा सर्वसुलभ बनाउनु एम्बिसन गुरुको लक्ष्य रहेको छ । यसका लागि आफूहरूले विभिन्न काम गरिरहेको र सक्दो कम मूल्यमा देशमा उपलब्ध मध्येकै सर्वोत्कृष्ट शिक्षा उपलब्ध गराइरहेको एम्बिसन गुरुको दाबी छ । सामुदायिक विद्यालयहरूमा अध्ययन गरिरहेका कक्षा १० विद्यार्थीहरूलाई यसले निःशुल्क अनलाइन शिक्षा प्रदान गरिरहेको छ ।
गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले पालिकाले निकट भविष्यमा पालिका भित्रका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि पालिकाले अनलाईन शिक्षाको हकमा निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । घुन्सा फाउन्डेसनकी संस्थापक समेत रहेकी नेपाल ट्रस्टकी कार्यकारी सदस्य याङ्जोम शेर्पालाई इंकित गर्दै एम्बिसन गुरु डिजिटल शैक्षिक प्लेटफर्म मार्फत दिइने अनलाईन शिक्षा सम्बन्धमा सम्बन्धित व्यक्तिहरू सँग आवश्यक समन्वय र सहकार्य भइरहेको र छिटै पालिका मार्फत आफ्नो गाउँपालिकाका विद्यार्थीहरूको लागि निःशुल्क अनलाईन शिक्षा प्रदान गरी शैक्षिक भविषय सुनिश्चित गर्ने बताउनु भयो । साथै आगामी दिनमा एसइईमा चार जिपिए ल्याउने विद्यार्थीहरूका लागि प्रोत्साहन सोरुप रु ५० हजार प्रदान गरिने समेत कार्यक्रमका बिच घोषण गर्नुभयो ।
पालिकाको पहलमा एम्बिसन गुरुले बुधवार माछापुच्छ्रे« गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूका विद्यार्थीहरूलाई ३ केन्द्रमा विभाजन गरि एम्बिसन मार्फत शिक्षणमा सहभागी बन्नका लागि अभिमुखीकरण कार्यक्रम गरेको हो । घुन्सा फाउन्डेसनकी संस्थापक समेत रहेकी नेपाल ट्रस्टकी कार्यकारी सदस्य याङ्जोम शेर्पाले विद्यार्थीहरूको शैक्षिक सुधारका लागि यो एप मार्फत अनलाइन सिकाई निकै महत्त्वपूर्ण र प्रभावकारी रहेको बताउदै सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्ने सबै विद्यार्थीहरूलाई निःशुल्क रूपमा जोडिन उहाँले आग्रह पनि गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रमका घुन्सा फाउन्डेसनका प्रशिक्षक दीपक पौडेलले विद्यालयमा सिकेको कुराहरूको पुनरावृत्ति, नबुझेका कुराहरू बुझ्ने, नजानेका कुराहरू अनलाइन मार्फत सोध्ने, तत्काल मक टेस्ट, लाइभ टिचिङ लगायत फिचरहरूले पनि विद्यार्थीहरूलाई सिकाइमा सहजता मिल्ने विद्यार्थीहरूमा विश्वस्त पार्नुभएको थियो । बुधवार सम्पन्न अभिमुखीकरण कार्यक्रमको सहजीकरण गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक विष्णु प्रसाद अधिकारीले गर्नुभयो ।

