मेयर आचार्यको नेतृत्वमा पोखरामा वृहत वृक्षारोपण अभियान शुभारम्भ

Headlines

विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिकाले “क्लिन सिटी, ग्रीन सिटी” भन्ने नाराका साथ वृहत वृक्षारोपण अभियान पोखरा–२५ हेमजा बाट सुरु गरेको छ।

उक्त वृहत वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले “बिरूवा रोप्नु मात्रै पर्याप्त छैन, त्यसको संरक्षण हाम्रो दायित्व हो” भन्दै अभियानलाई दीगो र सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।

महानगरले यस अभियान अन्तर्गत २ लाख २६ हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ। आजबाट सुरु भएको कार्यक्रमअन्तर्गत याम्दी देखि फेदीसम्मको १२ किलोमिटर सडक खण्डको डिभाइडरमा १,१०० वटा विभिन्न जातका फूलका बिरुवा रोपिनेछ।

कार्यक्रममा उप–मेयर मन्जुदेवी गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यकारी प्रमुख शिवराज चौलागाईं, वडा नं। २५, २९ र १७ का अध्यक्षहरू, महाशाखा प्रमुख विमल रञ्जन कार्की, सामाजिक अभियन्ता, स्थानीय बासिन्दा र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन नेत्र तिमिल्सेनाले गर्नुभएको थियो। सहभागी वक्ताहरूले वातावरण संरक्षण र प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि वृक्षारोपण अभियान महत्वपूर्ण कदम भएको धारणा राखेका थिए।