२७ वर्षमै जीवन–मृत्युको दोसाँधमा अजय: उपचारका लागि सहयोगको याचना

Headlines Top Post समाचार होमपेज

पोखरा। स्याङ्जाको हरिनास गाउँपालिका–४ स्थायी घर भएका २७ वर्षीय अजय सार्की, हाल पोखरा महानगरपालिका–२५, हेम्जामा परिवारसँग बसोबास गर्दै आएका छन्। तर, आज उनी आफ्ना उज्ज्वल सपनाहरू होइन, जीवन र मृत्युबीचको कठिन संघर्षसँग जुधिरहेका छन्।

हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा उपचाररत अजयको परिवार आर्थिक रूपमा अत्यन्तै विपन्न छ। परिवारले दैनिक खोलामा ढुंगा, गिटी र बालुवा उत्खनन गरेर जेनतेन जीविकोपार्जन गर्दै आएको थियो। दिनभरको कठोर मेहनतले छाक टार्ने परिवारमाथि अहिले महँगो उपचारको भार थपिएपछि पीडामाथि झन् पीडा थपिएको छ।

अजयको आमा ललिता सार्कीका अनुसार अजयका दुवै मिर्गौला फेल भएका छन्। उपचारमा लाग्ने ठूलो खर्च धान्न नसकिरहेका परिवारले हाल विभिन्न सहयोगी मनहरूबाट प्राप्त सहयोगकै भरमा उपचारलाई निरन्तरता दिइरहेको जनाएको छ।आमा ललिताले मर्दीसेतीलाई दिएको जानकारी अनुसार विगतमा विभिन्न सहयोगी मनहरूबाट प्राप्त सहयोगकै भरमा अजयको उपचार र डायलाइसिस हुँदै आएको थियो। तर पछिल्लो समय सहयोग आउन छाडेपछि आर्थिक अभावका कारण डायलाइसिससमेत रोकिएको छ। अजयको उपचारलाई निरन्तरता दिन अझै ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै परिवारले सबै सहयोगी मनहरूमा मानवीय सहयोगका लागि भावुक अपिल गरेको छ।

अजयको उपचारका लागि आवश्यक खर्च जुटाउन नसक्दा परिवार असहाय बनेको छ। उमेरले वृद्ध बुबाआमाको सहारा बन्नुपर्ने बेला, आज छोराबचाउन ती बुबाआमाले सहयोगका लागि सबैसँग आग्रह गर्नुपर्ने अवस्था आएको छ। यो दृश्यले जो–कोहीको मन पग्लिन्छ।

यसैबीच, पोखरा महानगरपालिका–२५ वडा कार्यालयले अजयको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको उल्लेख गर्दै नेपाल सरकारबाट उपलब्ध हुने स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइदिन सम्बन्धित निकायमा सिफारिससमेत गरेको छ।

अजयको परिवारसँग अहिले एउटै अपेक्षा छ—मानवीय सहयोग। सानो–सानो सहयोगले पनि एउटा २७ वर्षीय युवाको जीवन बचाउन, एउटा परिवारको आशा जोगाउन र वृद्ध बुबाआमाको आँखाको आँसु पुछ्न सक्नेछ।

आज अजयको उपचारमा तपाईंको सानो सहयोग नै एउटा परिवारका लागि ठूलो आशा बन्न सक्छ। आउनुहोस्, मानवताको हात बढाएर अजय सार्कीलाई नयाँ जीवन दिने अभियानमा साथ दिऔँ।

अजय सार्कीको उपचारका लागि सहयोग गर्नुभएका महानुभावहरूले सहयोग गरेको प्रमाण (स्क्रिनसट) सहित आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर Mardiseti.com को फोन नम्बर 9846519511  मा पठाइदिनुहुन अनुरोध छ।

हजुरको मञ्जुरी प्राप्त भएमा, सहयोगदाताको नाम, सहयोग रकमसहित हार्दिक आभार तथा धन्यवाद Mardiseti.com को आधिकारिक पेजबाट सार्वजनिक गरिनेछ।