पोखरा । चाडपर्व मनाउने खर्चलाई विपद्मा परेका नागरिकको पीडामा मलम लगाउन प्रयोग गर्दै पोखरा–१ सिम्पानीस्थित श्री सिद्धार्थ आमा समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० हजार ५५० सहयोग गरेको छ।
समूहले २०८३ भदौ २२ गते ग्लोबल आइएमई बैंकको खातामार्फत उक्त रकम जम्मा गरेको हो। सहयोगसम्बन्धी जानकारी समूहकी अध्यक्ष दिलमाया लामिछानेले मर्दीसेती डटकमलाई जानकारी दिनुभयो।
अध्यक्ष लामिछानेका अनुसार वर्षौँदेखि निरन्तर रूपमा मनाउँदै आइएको महिलाहरूको विशेष पर्व तीज कार्यक्रम यस पटक स्थगित गरी सो कार्यक्रमका लागि छुट्टाइएको रकम विपद् प्रभावित नागरिकको राहतका लागि प्रदान गर्ने निर्णय गरिएको हो।
“तीज मनाउनेभन्दा अहिले विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीको पीडामा साथ दिनु ठुलो मानवीय दायित्व हो भन्ने महसुस गरेर कार्यक्रम स्थगित गरी उक्त रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हौँ,” अध्यक्ष लामिछानेले भन्नुभयो।
समूहकी कोषाध्यक्ष रीता भण्डारी काफ्लेका अनुसार राहत रकम सङ्कलनमा समितिका पदाधिकारी, आजीवन सदस्य, साधारण सदस्य संयुक्त रूपमा पहल गर्नुभएको थियो। सबैको सामूहिक प्रयासबाट रकम सङ्कलन गरी राहत कोषमा जम्मा गरिएको उहाँले जानकारी दिनुभयो।
राहत सङ्कलन अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति समूहले धन्यवाद तथा आभार व्यक्त गरेको छ। सानो–ठुलो सहयोगको हिसाबभन्दा पनि विपद्को समयमा एक–अर्काको पीडामा उभिन सक्नु नै समाजको वास्तविक शक्ति भएको समूहको भनाइ छ।
श्री सिद्धार्थ आमा समूह उक्त क्षेत्रमा क्रियाशील आमा समूहका रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल समूहका रूपमा परिचित छ। स्थानीय समुदायका समस्या तथा सामाजिक कार्यदेखि राष्ट्रियस्तरका विपद्का समयमा समेत समूहले आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको छ। विभिन्न सामाजिक तथा मानवीय अभियानमा सक्रिय सहभागिता जनाउँदै समूहले समाजमा सकारात्मक योगदान पुर्याउँदै आएको छ।
विभिन्न सामाजिक व्यक्तित्वहरूले समेत समूहको यस्तो मानवीय कार्यको प्रशंसा गर्दै चाडपर्वको खर्चलाई विपद् पीडितको सहयोगमा रूपान्तरण गर्ने निर्णय समाजका लागि सकारात्मक र अनुकरणीय उदाहरण भएको बताएका छन्।
तीजजस्तो विशेष पर्वको उत्सवलाई केही समयका लागि थाती राखेर पीडित नागरिकको आँसु पुछ्ने प्रयास गर्नु केवल आर्थिक सहयोग मात्र नभई मानवता, सामाजिक उत्तरदायित्व र सामूहिक संवेदनशीलताको एउटा अर्थपूर्ण सन्देश पनि हो।
श्री सिद्धार्थ आमा समूहको यो निर्णयले चाडपर्व केवल रमाइलो र उत्सवका लागि मात्र नभई दुःखमा परेकाको साथ बन्ने अवसर पनि हुन सक्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ।


