माछापुच्छ्रेमा जनप्रतिनिधिको आवाज : नागरिकता सहज बनाउन जिल्ला प्रशासनसँग माग

समाचार

लागूऔषध नियन्त्रणदेखि नागरिकता वितरण प्रक्रिया सहज बनाउनुपर्ने माग, प्रशासनले दियो सेवा सुधारको प्रतिबद्धता

माछापुच्छ्रे (कास्की), असार २१। जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिकाको समन्वय एवं सहजीकरणमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध दुरुपयोग न्यूनीकरण तथा प्रभावकारी सेवा प्रवाह सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि र स्थानीयवासीबीच स्थानीय समस्या, सार्वजनिक सेवा र सुशासनका विषयमा खुला संवाद भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले शान्ति सुरक्षा कायम गर्न प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। लागूऔषध दुरुपयोग, सामाजिक विकृति तथा अपराध नियन्त्रणका लागि समुदायस्तरबाटै सचेतना विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले यस्ता अन्तरक्रियाले स्थानीय सरकार र नागरिकबीचको विश्वास अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जिल्ला प्रशासन नागरिकलाई सहज, छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो। नागरिकका गुनासा र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्दै कानुनको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले लागूऔषध दुव्र्यसन, साइबर अपराध, घरेलु हिंसा तथा अन्य सामाजिक अपराध नियन्त्रणमा समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो। विशेषगरी युवालाई लागूऔषधको कुलतबाट जोगाउन अभिभावक, विद्यालय, स्थानीय सरकार र सुरक्षा निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाबारे जानकारी दिँदै सेवा प्रवाहलाई अझ सरल, पारदर्शी र नागरिकमैत्री बनाउन प्रशासन निरन्तर प्रयासरत रहेको बताउनुभयो।

अन्तरक्रियाका क्रममा गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, वडा अध्यक्षहरू गणेश आचार्य, मधुसुदन अधिकारी, इन्द्र गुरुङ र नारायण पौडेल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माछापुच्छ्रे गाउँपालिका सभापति भुपेन्द्र कुँबर लगायतले शान्ति सुरक्षा, विकास निर्माण, सडक पूर्वाधार, सेवा प्रवाह, लागूऔषध नियन्त्रण तथा नागरिकतासम्बन्धी विभिन्न विषयमा धारणा राख्नुभयो।

विशेषगरी जनप्रतिनिधिहरूले नागरिकता वितरण प्रक्रियालाई थप सहज, छिटो र पहुँचयोग्य बनाउनुपर्ने आवश्यकता औँल्याउँदै जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँग थप प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिएका थिए। सेवा प्रवाहमा देखिएका व्यवहारिक समस्याको समाधानका लागि प्रशासन र स्थानीय सरकारबीच नियमित संवाद आवश्यक रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा सहभागीहरूले यस्ता अन्तरक्रियाले स्थानीय समस्याको पहिचान, प्रशासन र नागरिकबीचको प्रत्यक्ष संवाद, सार्वजनिक उत्तरदायित्व तथा सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

जिल्ला प्रशासन कार्यालय कास्कीले आगामी दिनमा जिल्लाका अन्य स्थानीय तहमा पनि यस्ता सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रमको सञ्चालन माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गर्नुभएको थियो।