विनोद पौडेलको नेतृत्वमा (NRNA Türkey) विधिवत् दर्ता, नेपाली दूतावास स्थापनाका लागि पहल गरिने

Top Post समाचार

अजय क्षेत्री

२०८३ असार १७ । गते टर्कीमा रहेका नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ (NRNA Türkey) कानुनी रूपमा विधिवत् दर्ता भएको छ। इस्तानबुलमा केन्द्रीय कार्यालय रहने गरी दर्ता प्रक्रिया सम्पन्न भएपछि टर्कीस्थित नेपाली समुदायमा उत्साह थपिएको छ।

संस्थापक अध्यक्ष विनोद पौडेल का अनुसार संस्थाको दर्तासँगै टर्कीमा रहेका नेपालीहरूको संस्थागत प्रतिनिधित्वका लागि बलियो कानुनी आधार तयार भएको छ। यसमार्फत नेपाली समुदायका साझा हित, सूचना प्रवाह, आपत्कालीन सहयोग, श्रम तथा कानुनी सचेतना, सांस्कृतिक संरक्षण र सामाजिक एकताका क्षेत्रमा व्यवस्थित रूपमा काम गर्न सकिने विश्वास लिइएको छ।

टर्कीमा हालसम्म नेपालको स्थायी राजदूतावास वा महावाणिज्य दूतावास स्थापना नभएको सन्दर्भमा संस्थाले नेपाल सरकारसमक्ष टर्कीमा नेपाली राजदूतावास तथा आवश्यक कूटनीतिक संरचना स्थापना गर्न पहल र दबाब सिर्जना गर्ने नीति समेत अघि सारेको जनाएको छ। अध्यक्ष पौडेलले टर्कीमा नेपालीहरूको संख्या बढ्दै गइरहेका कारण दूतावास स्थापनाले सेवा प्रवाह, श्रमिक संरक्षण तथा नेपाल–टर्की सम्बन्धलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अध्यक्ष पौडेलले बताए।

इस्तानबुल टर्कीको सबैभन्दा ठूलो महानगर तथा नेपालीहरूको प्रमुख बसोबास क्षेत्र भएकाले सेवाप्रवाह र समन्वयलाई प्रभावकारी बनाउन केन्द्रीय कार्यालय त्यहीँ स्थापना गरिएको जनाइएको छ।

संस्थाले आगामी दिनमा सदस्यता विस्तार, टर्कीभर रहेका नेपालीहरूलाई एउटै सञ्जालमा आबद्ध गर्ने, श्रमिक, विद्यार्थी तथा व्यवसायीका साझा मुद्दामा काम गर्ने, नेपाली भाषा, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने, आपत्कालीन सहयोग संयन्त्र विकास गर्ने तथा नेपाल–टर्की सम्बन्ध सुदृढ बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

त्यसैगरी, टर्कीका विभिन्न सहरमा रहेका नेपालीहरूलाई संस्थासँग जोड्न सम्पर्क प्रतिनिधि तथा स्थानीय समन्वय संयन्त्र विस्तार गरिने, नियमित भेटघाट, अनलाइन बैठक तथा सामाजिक सञ्जालमार्फत सक्रिय सहभागिता सुनिश्चित गरिने बताइएको छ।

संस्थाको कार्यसमितिमा उपाध्यक्ष श्यामकला राई, मन्दिरा खत्री र डोरबहादुर खड्का, महासचिव मोहम्मद जावेद अन्सारी, सचिव श्याम पाण्डे तथा कोषाध्यक्ष भीम अर्याल रहेका छन्।

केही महिनाको तयारी, आवश्यक कागजात संकलन तथा सम्बन्धित निकायसँगको समन्वयपछि दर्ता प्रक्रिया सम्पन्न भएको हो। संस्थाले यस उपलब्धिलाई टर्कीमा रहेका सम्पूर्ण नेपालीहरूको एकता, विश्वास र सामूहिक प्रयासको परिणामका रूपमा व्याख्या गरेको छ।

टर्कीमा नेपाली समुदायको प्रतिनिधित्व गर्ने संस्था विधिवत् दर्ता हुनु प्रवासी नेपाली समुदायका लागि ऐतिहासिक उपलब्धि मानिएको छ। यसले नेपालीहरूलाई कानुनी रूपमा संगठित हुने आधार प्रदान गर्नुका साथै समुदायका साझा हित, सहयोग र नेपाल–टर्की सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।