कास्की क्षेत्र नम्बर १ अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर ३२ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार तिलक रानाभाटको चुनावी घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा हजारौँ युवाको उल्लेख्य सहभागिता देखिएको छ । बिहानदेखि साँझसम्म सञ्चालन गरिएको अभियानमा विभिन्न टोलबस्तीका स्थानीय, युवाहरू, महिला समूह तथा पार्टीका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
घरदैलोका क्रममा रानाभाटले आगामी विकास योजना युवा मैत्री र युवा नेतृत्व केन्द्रित हुनुपर्नेमा जोड दिँदै युवाको सक्रिय सहभागिताबिना दिगो विकास सम्भव नहुने बताए । उनले समाजका सबै क्षेत्रमा युवाको भूमिका सुदृढ गर्न आवश्यक रहेको उल्लेख गर्दै शिक्षा, रोजगारी र उद्यमशीलतामार्फत युवालाई उत्पादनशील शक्तिका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।
अभियान अन्तर्गत वडा नं. ३२ का विभिन्न बस्तीमा घरघरमै पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिएको थियो। स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सुकुम्बासी व्यवस्थापन लगायतका विषयमा नागरिकका गुनासा र सुझाव संकलन गरिएको र समस्याको दिगो समाधानका लागि योजना निर्माण गरिने रानाभाटले बताए । आफू क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको उम्मेदवारका रूपमा जनताको सेवा र विकासका एजेन्डामा प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
रानाभाटले विजयी भए सुकुम्बासी समस्या व्यवस्थित समाधान, लामेआहाको प्रस्ताविक क्षेत्रीय बसपार्क निर्माण, गण्डकी विश्वविद्यालयको विस्तार, रुपातालको समग्र विकास, कृषि आधुनिकीकरण, माहुरीपालन प्रवद्र्धन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आत्मनिर्भर वडा निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
उनका अनुसार कृषकलाई केन्द्रमा राखी आयआर्जन अभिवृद्धि गर्ने योजना प्राथमिकतामा रहनेछ। सडक पहुँच विस्तार, व्यवसायमुखी कृषि, जडीबुटी उत्पादन र स्थानीय उद्योग प्रवद्र्धनमार्फत वडाको अर्थतन्त्र सुदृढ गर्न सकिने उनले बताए । महिला अधिकार सुदृढीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा सीपमूलक शिक्षालाई क्षेत्रीय विकासका आधार स्तम्भका रूपमा अघि सारिएको उनले उल्लेख गरे।
कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण केसी, वडा सभापतिा, नेपाली कांग्रेसका विभिन्न भ्रातृ संघ प्रतिनिधि, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। तल्लोगगनगौडा, लामेआहाल, मजुवा, खुदीखोला, मालमुल, राजाको चौतारा, मालेपाटन, ढोडवेसी, सातमुहाने र खोलाको छेउ लगायतका बस्तीमा घरदैलो अभियान सञ्चालन गरिएको हो ।

