लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ सुरु, पहिलो दिन २ खेल सम्पन्न

Headlines खेलकुद समाचार

पोखरा । माछापुच्छ्रे गाउँपालिकामा स्थापित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब, लाहाचोकको आयोजनामा शनिबारदेखि ‘चौथो माछापुच्छ्रे कप २०८३’ फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन दिनमै दुई खेल सम्पन्न भएका छन्।

पहिलो खेलमा आयोजक त्रिशक्ति युनाइटेड क्लबले विष्णु पादुका युवा क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। उक्त खेलमा त्रिशक्तिका जर्सी नं. १९ का राकेश राई ‘म्यान अफ द म्याच’ घोषित भए।
त्यस्तै दोस्रो खेलमा आरएस पोखराले गण्डकी प्रदेश प्रहरी फुटबल टिमलाई २–० गोल अन्तरले हराउँदै जीत हात पारेको छ। सो खेलमा आरएस पोखराका जर्सी नं। १८ का टाइसन तामाङ ‘म्यान अफ द म्याच’ घोषित भएका छन्।

गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयकी माननीय मन्त्री रेखा गुरुङले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकास र युवाहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो। उक्त अवसरमा उहाँले महेन्द्र माध्यमिक विद्यालय खेल मैदान को स्तरोन्नतिका लागि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका वडा अध्यक्ष मधुसूदन अधिकारीले यस्ता प्रतियोगिताले स्थानीय खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउँदै युवाहरूलाई खेलतर्फ आकर्षित गर्न र गाउँपालिकाको पहिचान स्थापित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो। सो अवसरमा उहाँले खेल मैदानको विगतदेखिको इतिहासबारे जानकारी गराउँदै प्रदेश सरकारसँग मैदान स्तरोन्नतिको लागि ध्यानाकर्षण समेत गराउनु भएको थियो।

युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउँदै अनुशासन, सहकार्य र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष पवन शर्मा अधिकारी ले जानकारी दिनुभयो।

प्रतियोगितामा त्रिशक्ति युनाइटेड क्लब, ढिकुरपोखरी युवा क्लब, सङ्गम युवा क्लब हेमजा युनाइटेड, गण्डकी प्रदेश आर्मी फुटबल टिम, विष्णु पादुका युवा क्लब, आरएस क्लब र गण्डकी प्रदेश प्रहरी फुटबल टिमसहित ८ टिमको सहभागिता रहेको छ।

विजेताले रु। २ लाख २२ हजार २ सय २२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु। १ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब १६ लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने करिब १७ लाख रुपैयाँ सङ्कलन हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

लाहाचोक महेन्द्र मा।वि। खेल मैदान मा वैशाख २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता वैशाख २९ गतेसम्म चल्नेछ। आइतबार पहिलो खेल गण्डकी आर्मी र ढिकुरपोखरी युवा क्लबबीच हुने तथा दोस्रो खेल हेमजा युनाइटेड र सङ्गम क्लबबीच हुने आयोजकले जनाएको छ।

माछापुच्छ्रे गाउँपालिका वडा नं। ४ को संरक्षकत्वमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटनका अवसरमा बाजागाजा, विभिन्न भेषभूषासहित आमा समूह, युवा क्लब तथा सामाजिक संघसंस्थाहरूको उल्लेखनीय उपस्थितिमा झाँकीसहितको र्‍याली समेत निकालिएको थियो। क्लबका अध्यक्ष पवन शर्मा अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुशील श्रेष्ठले गरेका थिए।