पानीट्यांकी हस्तान्तरण

Headlines समाचार

पोखरा, १२ भदौ । पोखरा २५, गौरीशङ्कर बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण भएको ट्याङ्कीको प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ जे नेपालका प्रथम भाइस गभर्नर एमजेएफ लायन प्रजापति बास्तोलाले गरेका थिए । प्रमुख अतिथि बास्तोलाले लायन्स क्लब अफ पोखरा हेमजाले शुद्ध खानेपानीका लागी गरेको कार्यको प्रशंसा गर्दै जहाँ समस्या त्यहाँ लायन्स रहेको यस्ता कार्यहरूले पुष्टि गरेको कुरा बताउनुभयो ।

विशेष अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले लायन्स ले हेमजा क्षेत्रमा गरेको कार्यहरूको प्रशंसा गर्दै शिक्षा,स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न विधामा कार्य गर्दै आइरहेको र लायन्स क्लब र जनप्रतिनिधिको उद्देश्य एउटै रहेको बताउनुभयो ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष एवं खानेपानी ट्याङ्की निर्माण कार्यक्रमका निर्देशक सोनाम साङपोका अनुसार २२ वर्षअघि पोखराका विद्यालयका विद्यार्थीको दिसा परीक्षण गर्दा ७० प्रतिशत विद्यार्थीमा पानीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिएको थियो । त्यसयता विभिन्न दाता सहयोगमा पानी शुद्ध बनाउन यहाँका विभिन्न विद्यालयमा ३ सय थान यूरोगार्ड वितरण गरिएको उनले स्मरण गरे । वितरित यूरोगार्डले सुरुमा राम्रै काम गरे पनि तत्कालीन अवस्थाको लोडसेडिङको समस्या र आवश्यक मर्मत सम्भार अभावले २–३ वर्षपछि काम नगरेपछि स्वच्छ पानीको निम्ति स्थायी समाधान गर्न सन् २०१७ देखि खानेपानी ट्याङ्की निर्माण थालिएको हो र आज यो ५४औँ खानेपानी टंकी हस्तान्तरण कार्यक्रम रहेको कुरा बताउनुभयो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेलले लायन्स क्लबले गरेको कार्यको सह्राना गर्दै धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।