मेलबोट–धिताल–धम्पुस सडकलाई बहुवर्षीय योजनामा लैजान्छौँ’: मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

समाचार

पोखरा, गण्डकी प्रदेश / गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माछापुच्छ्रे गाउँपालिकाको समग्र विकास र पूर्वाधार निर्माणका लागि प्रदेश सरकार सधैँ सकारात्मक रहेको बताउनुभएको छ।

नेपाली कांग्रेस जनसम्पर्क समिति लक्जेम्बर्गका सभापति कुमार पौडेलको समन्वय तथा नेपाली कांग्रेस वडा नं. ६ धिताल इकाइको आयोजनामा माछापुच्छ्रे गाउँपालिका–६ स्थित धिताल होमस्टेमा आयोजित नागरिक भेटघाट तथा संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले स्थानीयवासीको मागअनुसार मेलबोट–धिताल–धम्पुस सडक खण्डलाई बहुवर्षीय योजनामा लगेर बजेट सुनिश्चितता गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बहुवर्षीय योजना र सडक स्तरोन्नतिको माग

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ तथा वडा नं. ६ का वडाध्यक्ष टेकनाथ गौतमले मेलबोट–धिताल–धम्पुस सडकलाई बहुवर्षीय योजनामा समावेश गरी आवश्यक बजेट व्यवस्थापन गरिदिन मुख्यमन्त्री पाण्डेसमक्ष जोडदार अनुरोध गर्नुभयो।

वडाध्यक्ष गौतमले वडा सरकारको प्रतिष्ठा र जिम्मेवारीलाई उच्च स्थानमा राख्दै स्थानीय समस्या समाधानमा प्रदेश सरकारले पुर्‍याउँदै आएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। प्रदेश सरकारको सकारात्मक चासो र सहकार्यले स्थानीय स्तरमा विकास निर्माण र जनसेवाका माकाम सहज भएको  उहाँको भनाइ थियो।

‘विकासमा सबै दलको एकता आवश्यक’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका प्रमुख सचेतक प्रकाश बरालले राजनीतिक विचार फरक भए तापनि विकास निर्माणका काममा सबै राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभयो। उहाँले कांग्रेसले कहिल्यै विभेदको राजनीति नगर्ने स्पष्ट पार्नुभयो। यसैगरी, कास्की कांग्रेसका जिल्ला उपसभापति युवराज कुँवरले माछापुच्छ्रे–६ अन्तर्गत पर्ने भेडावारी देखि धितालसम्मको सडक स्तरोन्नतिमा विशेष जोड दिन आग्रह गर्नुभयो। विकासको मुख्य आधार नै बाटो र खानेपानी भएको उल्लेख गर्दै उहाँले सडकको स्तरोन्नति र नियमित मर्मत-सम्भार अति आवश्यक रहेको बताउनुभयो।

एकवार भिरको जोखिम र मोटरयोग्य पुलको माग

सोही अवसरमा नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाका सभापति केशव अधिकारीले समग्र गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको हेमजा–मेलबोट–माछापुच्छ्रे जोड्ने मणिलाल मार्गअन्तर्गत सेती–मार्दी दोभान माथिको एकवार भिर खण्डमा नागरिकहरूले सास्ती र जोखिमपूर्ण यात्रा गर्नुपरेको बाध्यात्मक परिस्थितिबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।

उक्त जोखिमयुक्त समस्याको दीर्घकालीन समाधानका लागि माछापुच्छ्रे वडा नं. ४ र पोखरा महानगरपालिका वडा नं. १९ पुरन्चौर जोड्ने सेती–मार्दी दोभानमा मोटरयोग्य पुल निर्माण अति आवश्यक रहेको स्पष्ट पार्दै सभापति अधिकारीले बजेट व्यवस्थापन र आवश्यक पहलका लागि प्रदेश सरकारसँग आग्रह गर्नुभयो।

त्यस्तै, एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष एवं कास्की आदर्श समाज बेल्जियमका संस्थापक अध्यक्ष पूर्ण तिमिल्सिनाले नागरिकका गुनासा र भावना सुन्न निमन्त्रणा स्वीकार गरी उपस्थिति जनाइदिएकोमा मुख्यमन्त्री पाण्डेप्रति विशेष आभार व्यक्त गर्नुभयो।

बाजागाजासहित भव्य स्वागत र भव्य उपस्थिति

नेपाली कांग्रेस वडा नं. ६ धिताल इकाइका सभापति गोविन्द ढुंगानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रुद्रनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन इकाइ सचिव बालगोपाल श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेलाई स्थानीयवासी, पञ्चेबाजा र सांस्कृतिक झाँकीसहित भव्य स्वागत गरिएको थियो। कार्यक्रममा स्थानीय विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, पार्टीका नेता-कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।