पोखरा । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत कास्की प्रतिनिधिसभा क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमिति सदस्य (युवा खुला–३५ वर्षमुनि) पदमा इन्जिनियर ई. राजन लम्सालले उम्मेदवारी प्रस्तुत गरेका छन्।
युवा पुस्ताको राजनीतिक सहभागिता, प्रविधिमैत्री संगठन निर्माण तथा संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राख्दै लम्साल क्षेत्रीय सदस्य पदको प्रतिस्पर्धामा सहभागी भएका हुन्। उम्मेदवारीसँगै सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले आफ्नो उम्मेदवारी, प्राथमिकता र पार्टी संगठनप्रतिको दृष्टिकोणबारे जानकारी गराएका छन्।
पछिल्लो समय नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि विभिन्न तहमा नेतृत्व र प्रतिनिधिका रूपमा युवा पुस्ताको सहभागिता बढ्दै गएको देखिएको छ। विशेषगरी इन्जिनियर, डाक्टर, पत्रकार, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध युवाहरू पार्टीको संगठनात्मक र राजनीतिक क्षेत्रमा सक्रिय हुन थालेको विषयले पनि चर्चा पाउन थालेको छ। कांग्रेसको यसपटकको अधिवेशन प्रक्रियामा युवा सहभागिता र नयाँ पुस्ताको प्रतिनिधित्वलाई लिएर विभिन्न तहमा बहससमेत भइरहेको छ।
यही परिवेशमा इन्जिनियरिङ पृष्ठभूमिका लम्सालको क्षेत्रीय कार्यसमिति सदस्य पदको उम्मेदवारीलाई पनि पेशागत अनुभव र युवा पुस्ताको राजनीतिक सहभागिताबीचको जोडका रूपमा हेर्न सकिने अवस्था बनेको छ। प्रविधि र आधुनिक व्यवस्थापनको अनुभवलाई पार्टी संगठनमा प्रयोग गर्दै युवालाई निर्णय प्रक्रियासँग जोड्ने विषय उनको उम्मेदवारीका प्रमुख प्राथमिकतामध्ये रहेको बताइएको छ।
नेपाली कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन तथा क्षेत्रीय कार्यसमिति निर्वाचन हुने व्यवस्था छ।
क्षेत्रीय अधिवेशनमा सहभागी प्रतिनिधिहरूको मतदानबाट नयाँ क्षेत्रीय कार्यसमिति चयन हुनेछ। लम्सालले युवा पुस्ताको सहभागिता, संगठनलाई प्रविधिमैत्री बनाउने पहल तथा पार्टीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा अघि सारेका छन्।

