पोखरा । माछापुच्छ्रे गाउँपालिका–३, घाचोकका शंकर कार्कीले नेपाली कांग्रेसको कास्की क्षेत्र नं. ३(क) बाट प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘समृद्ध संगठन, समृद्ध समाज’ भन्ने मूल नाराका साथ उम्मेदवारी घोषणा गरेका कार्कीले पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र समावेशी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
कार्कीको राजनीतिक तथा सामाजिक यात्रामा विभिन्न जिम्मेवारी र संस्थागत अनुभव रहेको छ। उनी २०४८ सालमा लालीगुराँस युवा क्लब, घाचोकका संस्थापक अध्यक्ष बनेका थिए। त्यसपछि नेपाली कांग्रेसको वडा कार्यसमिति सदस्यका रूपमा एक कार्यकाल तथा पालिका कार्यसमिति सदस्यका रूपमा समेत एक कार्यकाल जिम्मेवारी सम्हालेको उनको विवरण छ।
२०६५ सालमा प्रोफेसनल पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन गर्दै उनले व्यावसायिक यात्रासमेत अघि बढाएका थिए। संस्थामा प्रशिक्षकको भूमिकामा समेत काम गरेका कार्कीले शिक्षा तथा व्यवसाय क्षेत्रमा अनुभव हासिल गरेको बताइएको छ।
पार्टी संगठनमा पनि उनले विभिन्न जिम्मेवारी निर्वाह गरेका छन्। २०७९ सालको संघीय निर्वाचनमा प्रचार–प्रसार संयोजकको भूमिका निर्वाह गरेका कार्कीले आफ्नो क्षेत्रमा २०८३ सालको संघीय निर्वाचनमा प्रचार–प्रसार उपसंयोजकको जिम्मेवारीसमेत सम्हालेको बताएका छन्।
त्यसैगरी, क्षेत्री समाज नेपाल, माछापुच्छ्रे गाउँपालिकाका निवर्तमान अध्यक्षका रूपमा समेत उनले सामाजिक क्षेत्रमा भूमिका निर्वाह गरेका छन्। राजनीतिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेको अनुभवलाई उनले उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीलाई स्पष्ट वैचारिक दिशा, गतिशील नेतृत्व र संगठनलाई थप प्रभावकारी बनाउने कार्यदिशा दिनुपर्ने आवश्यकता रहेको कार्कीको धारणा छ। बदलिँदो राजनीतिक परिवेशमा पार्टीको संगठनलाई स्थानीय तहसम्म थप सुदृढ बनाउँदै कार्यकर्ता र जनताबीचको सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
आफ्नो उम्मेदवारीमार्फत पार्टीभित्रको संगठनात्मक एकता, समावेशिता र सक्रियतालाई प्राथमिकता दिने कार्कीले बताएका छन् ।

