पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले केन्द्रीय महाधिवेशन प्रतिनिधि महिला (खुला) तर्फ उम्मेदवारी प्रस्तुत गरेकी छन्।
नेपाली कांग्रेसमा विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनमा सक्रिय रहँदै आएकी अधिकारी स्थानीय तहको जनप्रतिनिधिका रूपमा समेत काम गर्दै आएकी छन्। पार्टी संगठनको अनुभवसँगै गाउँपालिका उपाध्यक्षका रूपमा प्राप्त कार्यअनुभवलाई उनले आफ्नो उम्मेदवारीसँग जोडेर अघि सारेकी छन्।
गाउँपालिका उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै अधिकारीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सवाललाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। महिला तथा बालबालिकालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम र सहकार्यमा समेत उनले पहल गर्दै आएको बताइन्छ।
त्यस्तै, गाउँपालिकाका विकास निर्माण तथा सामाजिक गतिविधिमा आवश्यक पहल, समन्वय र सहजीकरण गर्ने भूमिकामा पनि अधिकारी सक्रिय रहँदै आएकी छन्। स्थानीय आवश्यकता र नागरिकका समस्या सम्बोधनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनको भूमिकालाई स्थानीयस्तरमा नागरिकहरूले चासोका साथ हेर्ने गरेका छन्।
महिला तथा ज्येष्ठ नागरिकका विषयमा स्थानीय तहबाट प्रभावकारी काम अघि बढाउनुपर्नेमा जोड दिँदै आएकी अधिकारीले महिलाको सहभागिता प्रतिनिधित्वमा मात्र सीमित नभई निर्णय तथा नेतृत्व तहमा समेत अर्थपूर्ण रूपमा विस्तार हुनुपर्ने धारणा राख्दै आएकी छन्।
स्थानीय तहको नेतृत्वमा रहेर काम गरेको अनुभव, पार्टी संगठनमा निर्वाह गरेका विभिन्न जिम्मेवारी तथा नागरिकसँगको प्रत्यक्ष सम्बन्धलाई आगामी राजनीतिक भूमिकामा उपयोग गर्ने अधिकारीको धारणा छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, सीप विकास, आत्मनिर्भरता र स्थानीय विकासका सवाललाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि महिला (खुला) तर्फ अधिकारीसहित अन्य उम्मेदवारहरू पनि प्रतिस्पर्धामा रहेकाले प्रतिनिधिहरूले उम्मेदवारहरूको राजनीतिक तथा संगठनात्मक अनुभव, योगदान र आगामी प्राथमिकताका आधारमा आफ्नो निर्णय गर्ने विश्वस लिइएको छ ।
।

