पोखरामा मनाइयो राष्ट्रिय कर दिवस, उत्कृष्ट करदाता सम्मानित

अर्थ


आन्तरिक राजस्व कार्यालय पोखराको आयोजनामा राष्ट्रिय कर दिवस २०८२ सम्पन्न भएको छ । आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रूपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले देश विकासको प्रमुख हिस्सेदार निजी क्षेत्र भएकोले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै करमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रलाई व्यावसायिक वातावरण तयार गर्न र मनोबल उच्च बनाउने गरी कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यसै गरी कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुङ्गानाले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताउनु भयो। उहाँले आर्थिक ऐन, २०८२ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागी करदातालाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ, पोखरा चेम्बर अफ कमर्स लगायतका व्यवसायकी सङ्घ सङ्गठनका प्रतिनिधिहरूले व्यवसायीहरूको मनोबल उठाउने गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आर के डी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको थियो ।यसै गरी कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जा् अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्स्ट्रक्सन प्रा।लिलाई सम्मान गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत २०८२ कात्तिक मसान्त सम्म व्यवसायकी स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ६९ हजार ८ सय ६ रहेको छ । जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९, अन्तः शुल्कमा ४ हजार ५ सय ४२ करदाता आबद्ध छन् । पोखरा कार्यालय अन्तर्गत२ लाख १८ हजार १ सय २९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। आन्तरिक राजस्व कार्यालय पोखराले कात्तिक मसान्तसम्ममा १ अर्ब ५० करोड २० लाख राजस्व सङ्कलन गरेको छ । जसमध्ये आयकर तर्फ ८१ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि कर तर्फ ५२ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । अन्तः शुल्क तर्फ १२ करोड ७१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयले विलासिता शुल्क बापत ३ करोड ७८ लाख राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले गत वर्षको सोही अवधिको तुलनामा १ करोड ५४ लाख बढी राजस्व सङ्कलन गरेको छ ।  गत आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा आन्तरिक राजस्व कार्यालय पोखराले १ अर्ब ६६ लाख ६६ हजार सङ्कलन गरेको थियो ।