पोखरा–२५ हेमजाका अव्यवस्थित तार भाद्र १ गते देखि हटाइँदै, अध्यक्ष तिम्सिना 

समाचार

हेमजा, २१ श्रावण । पोखरा महानगपालिका २५ न। वडा कार्यालय हेमजाले हेमजा भित्रका  विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । वडाले बुधवार सम्बन्धी सरोकारवालहरू सँगको छलफल पछि सो निर्णय गरेको हो ।

२५ न वडा कार्यालयका अध्यक्ष एवं महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले विद्युत प्राधिकरण, नेपाल टेलिकम साथै अन्य सेवा प्रदायक संस्थाहरूको प्रतिनिधि मूलक उपस्थितिको छलफल पछि विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभाबी झुन्ड्याइएका उपकरण हटाउने  भएको बताए । छलफलले आगामी भाद्र १ गते देखि पहिलो चरणमा हेमजाको याम्दी देखि मिलचोक सम्मको अव्यवस्थित तार हटाउने निर्णय गरेको  थप उल्लेख गरे ।

वडा सदस्य कृष्ण बहादुर कुवारले टेलिफोन, विद्युत्, इन्टरनेट तथा केबुल टेलिभिजनका तार जथाभावी झुण्ड्याउँदा नेपालका अधिकांश सहर कुरुप छन् । जथाभावी तार आकाशमा झुण्ड्याउँदा सहरको सौन्दर्य कुरुप भएको मात्र  छैन् कतिपय अवस्थामा आगलागीसँगै सडक दुर्घटनाको कार भएकाले यस्ता कार्यलाई समयमा नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

वडा कार्यालयको आग्रह बमोजिम सेवा प्रदायक संस्थाले छलफलमा भएका निर्णय  बमोजिमको व्यवस्थापन कार्य गर्ने प्रतिबद्धता गरेका छन् । सेवा प्रदायक संस्थाहरूले २५ न.वडाबाट आवश्यक सहजीकरण गरिदिन समेत अनुरोध गरेका छन् ।