वैशाख अन्तिम साता कोटिहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

Headlines

पोखरा २१ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम  विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन् ।

कोटिहोममा पोखरेलले आगामी वैशाख २८ देखि जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम तय भएको कोटिहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । ढकालका अनुसार पोखरेल आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा सहभागी हुनेछन्।

१७ दिन देखि जारी कोटिहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजी लगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रिया मार्फत दैनिक कथा वाचन भइरहेको छ ।

यसअघि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचन, १४ दिनसम्म अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले श्रीमद्भागवत कथा वाचन गरेर पोखरेलीको मन जितेकी थिइन् । उनलाई जेठ १० देखि १६ गते सम्मका लागि पुनः पोखरा ल्याउने प्रयास भइरहेको सङ्कल्पकर्ता विजय कृष्ण मूर्तिले जानकारी दिए ।देवी हाल भारतको झार खण्डमा छन् ।

आइतबार पनि बिहान ८ बजेर ५ मिनेटमा हवन कुण्डमा हवन गरिएको छ । एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । साथै एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गरे ।

महायज्ञमा खुला भजन चुट्का प्रतियोगिता जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सयको समूहले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए  ।

प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था छ ।

वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटिहोम २०८२ जेठ २६ गते सम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन भएको छ ।