पोखरा–२५, हेम्जा । विपद् र आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा पोखरा–२५ हेम्जामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।
टोल विकास संस्था समन्वय समिति पोखरा–२५ को आयोजना, वडा महिला सञ्जाल पोखरा–२५ को सह–आयोजना तथा पोखरा–२५ नं.वडा कार्यालयको सहयोगमा कार्यक्रम हुन लागेको हो। यही भाद्र १० गते रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरू तथा जेन्जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा दीप प्रज्वलन गरिने आयोजकले जनाएको छ।
कार्यक्रम २०८३ भदौ २३ गते मंगलबार साँझ ५ बजे पोखरा–२५, हेम्जा मिलनचोकमा आयोजना हुनेछ।
टोल विकास संस्था समन्वय समिति पोखरा–२५का संयोजक दीपक थापाले हेम्जामा रहेका सम्पूर्ण संघ–संस्था, टोल विकास संस्था, आमा समूह, सामाजिक संघ–संस्थाका पदाधिकारी तथा सदस्यहरू, नागरिक समाज, साथै छिमेकी गाउँपालिकासँग सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्नुभएको छ।
“यो कुनै एक संस्था वा समूहको मात्र कार्यक्रम होइन, विपद् र संघर्षमा ज्यान गुमाएका सम्पूर्णप्रति सामूहिक श्रद्धा व्यक्त गर्ने साझा क्षण हो,” संयोजक थापाले बताउनुभयो।
दुःख र पीडाको घडीमा एकताबद्ध हुँदै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्ने यस कार्यक्रममा हेम्जाबाट उल्लेख्य र भव्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सबैलाई समयमै उपस्थित भई दीप प्रज्वलनमा सहभागी हुन आग्रह गरेको छ।
टोल विकास संस्था समन्वय समिति पोखरा–२५ को संयोजकको जिम्मेवारी पाएसँगै दीपक थापाको नेतृत्वमा हेम्जामा रहेका ३२ वटै टोल विकास संस्थाबीचको समन्वय, सहकार्य र सामूहिक सक्रियता थप प्रभावकारी बन्दै गएको देखिएको छ। स्थानीय नागरिकको सहभागिता र सामाजिक उत्तरदायित्वका गतिविधिमा टोल विकास संस्थाहरूको संयुक्त भूमिका पछिल्लो समय अझ स्पष्ट हुँदै गएको छ।
यसको पछिल्लो उदाहरणका रूपमा रसुवा विपद्का पीडितका लागि हेम्जाका ३२ वटा टोल विकास संस्थाको संयुक्त सहयोगमा विपद् कोषमा रु। ६ लाख ८४ हजार ९ सय ४० रुपैयाँ सहयोग गरिएको छ। उक्त सहयोगले विपद्को समयमा हेम्जाका टोल विकास संस्था तथा स्थानीय नागरिकहरूबीच रहेको एकता, सहकार्य र मानवीय भावनालाई थप उजागर गरेको छ।