पोखरा, कास्की । पछिल्लो समय गाउँदेखि सहरसम्म विभिन्न युवा क्लब, सामाजिक संस्था, खेलकुद समिति तथा अन्य संघसंस्थाहरूमा युवाको सक्रियता उल्लेख्य रूपमा बढेको छ। समाजका लागि केही गरौँ, समुदायलाई बदलौँ र नेतृत्व विकास गरौँ भन्ने भावना आफैँमा सकारात्मक र प्रेरणादायी पक्ष हो। तर यति बेला एउटा गम्भीर प्रश्न पनि उठिरहेको छ—के समाज सेवाको नाममा कतिपय युवाहरू आफ्नै भविष्यलाई भने अन्धकारतर्फ धकेलिरहेका छैनन् ?
आज धेरै युवाहरू विभिन्न कार्यक्रम, बैठक, सभा, महोत्सव र सामाजिक गतिविधिमा दिनरात व्यस्त देखिन्छन्। समाज सेवाको भावना राम्रो भए पनि जीवनको आधारभूत आवश्यकता, शिक्षा, सीप, रोजगारी, व्यवसाय र परिवारप्रतिको जिम्मेवारीलाई बेवास्ता गरेर गरिने सक्रियता दीर्घकालीन रूपमा लाभदायक बन्न सक्दैन।
नेतृत्व विकास र समाज सेवा महत्त्वपूर्ण कुरा हुन्। तर नेतृत्व विकासको नाममा आफ्नो पढाइ बिगार्ने, रोजगारीको अवसर गुमाउने, आर्थिक रूपमा कमजोर बन्ने वा परिवारको अपेक्षा पूरा गर्न नसक्ने अवस्था सिर्जना हुनु कुनै उपलब्धि होइन। वास्तविक नेतृत्व भनेको पहिले आफ्नो जीवन व्यवस्थित बनाउने र त्यसपछि समाजलाई सही दिशा दिन सक्ने क्षमता हो।
समाजले पनि त्यही व्यक्तिको नेतृत्व स्वीकार गर्छ जसले आफ्नो जीवनमा सफलता, अनुशासन र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको हुन्छ। आफ्नै घरमा समस्या, आर्थिक संकट र भविष्यप्रति अन्योल कायम राखेर समाज परिवर्तनका ठुला सपना देख्नु व्यवहारिक हुँदैन। आफू असफल भएर अरूलाई सफलताको बाटो देखाउन खोज्नु विरोधाभासपूर्ण अवस्था हो।
युवावस्था भनेको सपना निर्माण गर्ने समय हो। यही उमेरमा हासिल गरिने शिक्षा, सीप, अनुभव र आत्मनिर्भरता नै भविष्यको आधार बन्छ। समयमै आफ्नो करियर निर्माण गर्न नसकेका धेरै व्यक्तिहरू पछि गएर समाज सेवामा बिताएको समय सम्झँदै पश्चात्ताप गरिरहेका उदाहरण पनि हाम्रो समाजमा प्रशस्तै छन्। त्यसैले समाज सेवामा लाग्नु गलत होइन, तर आफ्नो भविष्य नै गुमाएर समाज सेवामा रमाउनु बुद्धिमानी पनि होइन।
यसको अर्थ युवाहरू सामाजिक कार्यबाट टाढा बस्नुपर्छ भन्ने होइन। बरु समयको उचित व्यवस्थापन गर्दै, आफ्नो अध्ययन, पेसा, व्यवसाय र पारिवारिक जिम्मेवारीसँगै समाज सेवामा सहभागी हुनुपर्छ। समाजलाई त्यस्ता युवाको आवश्यकता छ जो आर्थिक रूपमा सक्षम, बौद्धिक रूपमा परिपक्व र नैतिक रूपमा जिम्मेवार छन्।
आजको युवा पुस्ताले एउटा कुरा स्पष्ट बुझ्न आवश्यक छ—समाज सेवा र आत्म विनाश एउटै कुरा होइनन्। नेतृत्व विकास र भविष्य निर्माण एक अर्काका प्रतिस्पर्धी होइनन्, पूरक हुन्। तर प्राथमिकताको सही क्रम छुट्टाउन सक्नुपर्छ। पहिले आफूलाई सक्षम बनाऔँ, परिवारलाई बलियो बनाऔँ, त्यसपछि समाज र राष्ट्र निर्माणमा अझ प्रभावकारी भूमिका खेलौँ।
किनकि बलियो घरबाटै बलियो समाज बन्छ, बलियो समाजबाटै समृद्ध राष्ट्र निर्माण हुन्छ। समाज सेवाको यात्रामा अघि बढ्ने हरेक युवाले आफ्नो सपना, परिवारको अपेक्षा र भविष्यको जिम्मेवारीलाई कहिल्यै बिर्सनु हुँदैन। यही सन्तुलन नै सफल जीवन र प्रभावकारी समाज सेवाको वास्तविक आधार हो।

