पोखरा–२५ हेम्जास्थित धवलागिरि बोर्डिङ स्कुलमा विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्याससँग प्रत्यक्ष जोड्ने उद्देश्यले “निर्वाचन नमुना कार्यक्रम” भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रम अन्तर्गत विद्यालय परिसरमै वास्तविक निर्वाचनजस्तै वातावरण सिर्जना गर्दै उम्मेदवारी दर्ता, प्रचार–प्रसार, मतदान तथा मतगणनासम्मका सम्पूर्ण प्रक्रिया अभ्यास गराइएको थियो।
निर्वाचन अन्तर्गत विद्यालय क्याप्टेन पदका लागि ४ जना विद्यार्थीले उम्मेदवारी दिएका थिए। जसमा कक्षा १० ‘स्टार’ का रस्किन छन्त्याल, कक्षा १० ‘मून’ का संगम पौडेल, कक्षा १० ‘स्टार’ की रोशनी दाहाल र कक्षा १० ‘मून’ की सप्रिया रेग्मी रहेका थिए। तीमध्ये कक्षा १० ‘स्टार’ का रस्किन छन्त्यालले २४० मत प्राप्त गर्दै विद्यालय क्याप्टेनमा निर्वाचित हुन सफल भएका छन्।
त्यस्तै, विद्यालय उपाध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो। जसमा कक्षा ९ ‘मून’ की सुरभी शाही, कक्षा ९ ‘मून’ का दिप्सन बि.क कक्षा ९ ‘स्टार’ की लक्ष्मी भण्डारी, कक्षा ९ ‘स्टार’ का शिव थापा र कक्षा ९ ‘स्टार’ की श्रीटिन सुनार रहेका थिए। तीमध्ये कक्षा ९ ‘मून’ की सुरभी शाहीले १५१ मत प्राप्त गर्दै विद्यालय उपाध्यक्षमा निर्वाचित हुन सफल भएकी छन्।
त्यसै गरी, विभिन्न ४ सदन अन्तर्गत पनि नेतृत्व चयन गरिएको छ। पिस सदनबाट ८६ मतका साथ यूकेश थकाली क्याप्टेन र ३९ मतसहित नमन कुँवर उप–क्याप्टेनमा निर्वाचित भएका छन्। ट्रस्ट सदनबाट ४९ मतका साथ सबल क्षेत्री क्याप्टेन र ३९ मतसहित एलेक्स सापकोटा उप–क्याप्टेनमा निर्वाचित भएका छन्।
त्यस्तै, करेज सदनबाट ६१ मतका साथ मनीष सुनार क्याप्टेन र ४२ मतसहित संयोग अधिकारी उप–क्याप्टेनमा निर्वाचित भएका छन् भने विजडम सदनबाट ७६ मतका साथ सुगम रोका क्याप्टेन र ३३ मतसहित कैलाश खड्का उप–क्याप्टेनमा निर्वाचित भएका छन्।
उम्मेदवारहरूबिच उत्साहजनक प्रतिस्पर्धा देखिएको थियो भने विद्यार्थीहरूले जिम्मेवार ढङ्गले आफ्नो मताधिकार प्रयोग गरेका थिए।
विद्यालयका प्राचार्य शिव रेग्मीले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै यस्ता अभ्यासले विद्यार्थीहरूलाई सैद्धान्तिक मात्र नभई व्यवहारिक रूपमा पनि सक्षम बनाउने बताए। उनले भने, “किताबी ज्ञान मात्र पर्याप्त हुँदैन, यस्ता गतिविधिले विद्यार्थीलाई जिम्मेवार नागरिक बन्ने मार्ग देखाउँछ। लोकतन्त्रको अभ्यास विद्यालय तहबाटै सुरु हुनुपर्छ।”
रेग्मीका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, निर्णय क्षमता तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यसलाई सिकाइसँगै व्यवहारिक अनुभव दिने प्रभावकारी माध्यमका रूपमा लिएका छन्।
विद्यालयले आगामी दिनमा पनि यस्ता सृजनात्मक तथा व्यवहारिक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
