बैतडी । सुदूरपश्चिमकी प्रतिभाशाली लक्ष्मीको प्रेरणादायी भलिबल यात्रा बैतडी जिल्लाको मणिलेक माध्यमिक विद्यालय, कक्षा ९ बाट सुरु भएको हो। केवल १६ वर्षको उमेरमै उनले आफ्नो खेलजीवनलाई नयाँ उचाइतर्फ डोर्याउँदै जुनियर नेशनल ‘राष्ट्रपति कप’बाट प्रतिस्पर्धात्मक भलिबलमा प्रवेश गरिन्।
एसईई परीक्षा सम्पन्न गरेपछि उनी नेपाल पुलिस क्लबमा आबद्ध भइन् र कक्षा १२ मा अध्ययनरत रहँदासमेत आफ्नो खेल प्रतिभालाई निरन्तर निखार्दै गइन्। सन् २०२१ डिसेम्बरमा बंगलादेशमा सम्पन्न काभा प्रतियोगितामा सहभागिता जनाउँदै १९ वर्षको उमेरमै राष्ट्रिय टोलीमा स्थान बनाउनु उनका लागि ठूलो उपलब्धि रह्यो। सोही समयदेखि उनले राष्ट्रिय टोलीमार्फत आफ्नो करिअरलाई अझ सशक्त बनाउँदै लगिन्।
उनको अन्तर्राष्ट्रिय सफलताको यात्रामा सन् २०२४ मा माल्दिभ्समा सम्पन्न क्लब च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु महत्वपूर्ण उपलब्धि हो भने सन् २०२६ मा काभा क्लव प्रतियोगितामा कास्य पदक हात पार्दै उनले आफ्नो उत्कृष्टता प्रमाणित गरिन्। नेपालमै आयोजित एनभिए लिग तथा काभा टाइगर कपजस्ता प्रतिष्ठित प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने अनुभव हासिल गरिसकेकी छिन्।
उनको निरन्तर मेहनत र समर्पणकै परिणामस्वरूप हालै सम्पन्न १०औँ प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबलाई प्रथम बनाउन उनले महत्वपूर्ण भूमिका खेलिन्। उक्त प्रतियोगितामा उनले ‘बेस्ट स्पाइकर’ र ‘प्लेयर अफ द म्याच’ जस्ता व्यक्तिगत अवार्डहरू समेत जितेर आफ्नो उत्कृष्ट क्षमता पुनः प्रमाणित गरिन्।
