पोखरामा छैटौं टाइगर कप भलिबल च्याम्पियनसिप सुरु, एपीएफ, आर्मी र न्यू डायमण्ड विजयी

Headlines Top Post खेलकुद पर्यटन समाचार होमपेज

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिप शुक्रबारदेखि पोखरामा सुरु भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका हुन्।

च्याम्पियनसिपको पहिलो दिन सशस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुआत गरेका छन्।

महिलातर्फको पहिलो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। न्यू डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्दै सहज सुरुआत गरेको हो।

पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लबले माल्दिभ्स भलिबल एसोसिएसनलाई ३–० को सोझो सेटमा हरायो। आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पार्‍यो।

दिनको अन्तिम तथा तेस्रो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्‍यो। एपीएफले पहिलो सेट २६–२४ र दोस्रो सेट २७–२५ ले रोमाञ्चक जित निकालेको थियो। तेस्रो सेट भने गण्डकी प्रदेशले २५–१९ ले जित्दै पुनरागमनको संकेत गर्‍यो। तर चौथो सेटमा एपीएफले २५–२१ ले जित हात पार्दै प्रतियोगितामा सुखद सुरुआत गर्‍यो।

प्रतियोगिताअन्तर्गत शनिबार चार खेल हुनेछन्। बिहान साढे ८ बजे महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच पहिलो खेल हुनेछ। दोस्रो खेल महिलातर्फ एपीएफ र थाइल्याण्ड क्विन्सबिच हुने तालिका छ। महिलातर्फका खेलपछि पुरुषतर्फ गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएसनबिच खेल हुनेछ। पुरुषतर्फको अन्तिम खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुनेछ।

माघ १७ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा पुरुषतर्फ ६ तथा महिलातर्फ ५ टोली सहभागी छन्। प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ विजेता टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार पाउनेछन्। तेस्रो हुने टोलीलाई १ लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ।

यसैगरी, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ रुपैयाँ तथा विधागततर्फ उत्कृष्ट खेलाडीहरूले जनही ११ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।