मंसिरमा हुने हेमजा साहित्य महोत्सवको तयारी तीब्र

Headlines Top Post समाचार साहित्य

आगामि मंसिरमा हुने हेमजा साहित्य महोत्सवको तयारी तीब्र पारिएको छ।

हेमजा साहित्य महोत्सव तथा कविवर एवम् भाषाविद् मुकुन्दशरण उपाध्याय रथारोहण एवम् नागरिक अभिनन्दन मूल समारोह समिति आयोजना तथा हेमजा साहित्य प्रतिष्ठानको प्रमुख व्यवस्थापनमा आगामि १८, १९ र २० मंसिरमा महोत्सव हुन लागेको हो।


जसअन्र्तगत शनिबार हेमजामा छलफल भएको छ भने चाडपर्व लक्षित शुभकामना आदानप्रदान पनि गरियो।कार्यक्रममा धारणा राख्दै पुम्दीकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले हेमजामा साहित्य महोत्सव हुन लागेकोमा खुशी व्यक्त गर्दै भाषिक एकता कायम गर्न मुकुन्दशरण उपाध्यायले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे।

हेमजाका भूमिपुत्र उपाध्यायले आफ्ना सिर्जनामार्फत नेपालीपन तथा जन्मभूमिप्रतिको प्रेम दर्साउने गरेको उल्लेख गर्दै अध्यक्ष बरालले उनको जीवन प्रेरणादायी रहेको पनि भनाई राखे।उपाध्यायलाई मिलनसार प्राज्ञिक व्यक्तित्वको संज्ञा दिर्दै बरालले महोत्सवलाई नमुना योग्य बनाउन सबैको भूमिका रहने विश्वास जनाए।

छन्दनायक माधव वियोगीले माटोलाई माया गर्ने सष्ट्राका रुपमा मुकुन्दशरणलाई चिनाउँदै उनका कृर्ति मार्फत चेतना फैलाउने उद्देश्य राख्ने गरिएको स्पष्ट पारे।उनले मुकुन्दशरण, जर्नादनशरण तथा लक्ष्मीशरण हेमजाका वहुआयमिक व्यक्तित्व रहेको औँल्याउँदै उनीहरुले देखाएको बाटोलाई आत्मसात गर्नसके हेमजा स्वर्गतुत्य हुने भनाई राखे।

कार्यवहाक वडाध्यक्ष सुवाश भण्डारीले साहित्य महोत्सव समग्र पोखराकै गौरव कार्यक्रम भएको चर्चा गर्दै पछिल्लोपटक हेमजा महोत्सवमय बन्दै गएकोमा खुशी व्यक्त गरे।

मूल समारोह समिति अध्यक्ष छन्दमणि त्रिपाठीले सबैको सद्भाव मार्फत महोत्सव सफल हुने विश्वास व्यक्त गर्दै महोत्सवमा देश तथा विदेशबाट समेत सष्ट्रा आउने तयारी भइरहेको सुनाए।

कार्यक्रममा बीच देवीस्थान भजन समूह, नारायण वास्तोला, वसन्त चालिसे लगायतले विभिन्न प्रस्तुति राखे।

महोत्सव अन्र्तगत हेमजाको लामाचौतारादेखि ज्ञानसागर एकेडेमीसम्म भाषाविद् मुकुन्दशरण उपाध्यायलाई रथारोहण गरिनेछ।त्यस्तै विभिन्न सेसनमा साहित्यीक संवाद, उपाध्यायको अभिनन्दन, कृर्ति लोकार्पण, विभिन्न झाँकी हुनेछन्।

महोत्सव पूर्व विभिन्न स्थानीय तहमा भेला, प्रदेश स्तरमा सष्ट्रा भेटघाट तथा शैक्षिक एवम् सामाजिक संघसंस्थाका अगुवासँग अन्र्तक्रियाको कार्यक्रम पनि तय गरिएको उपाध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिए ।

मूल समारोह समिति अध्यक्ष त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रम महासचिव शिव त्रिपाठीले संचालन गरे।