गत चैत २४ देखि वैशाख ३ गतेसम्म भएको १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सवबाट ४ लाख २५ हजार बढी बचत भएको छ।
आयोजक विष्णुपादुका क्लबले आज कार्यक्रम गरी महोत्सवको आयव्यय सार्वजनिक गरेको हो । क्लबका कोषाध्यक्ष डम्बर कुँवरले महोत्सवमा कुल रु।२२ लाख ८९ हजार ८२ आम्दानी भएकोमा महोत्सव सञ्चालन खर्च कटाएर रु।४ लाख २५ हजार ४ सय ८६ बचत हुन आएको जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यपालिका सदस्य धना पोख्रेल तिमिल्सीनाले आयव्यय सार्वजनिक गरेकोमा खुशी व्यक्त गर्दै आलु महोत्सव समग्र पोखराकै ब्रान्ड बन्न सफल भएको बताइन्।महानगरले पर्यटन तथा कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै सदस्य तिमिल्सीनाले पछिल्लो पटक हेमजा कृषि पर्यटनको हब बन्दै गएको पनि स्पष्ट पारिन्।तिमिल्सीनाले जेनजी आन्दोलनका क्रममा स्थानीयको सहयोगमा वडा कार्यालयमा क्षति हुन नपाएको धारणा राख्दै युवाका मागमा आफूहरू संवेदनशील रहेको पनि भनाई राखिन्।
क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले सबैको सद्भावबाट महोत्सव सफल भएको जनाउँदै महोत्सव मार्फत कृषि उपजलाई प्रवर्द्धन गर्न खोजिएको धारणा राखे ।उनले विभिन्न चरणमा यति वेला क्लब भवन निर्माण जारी रहेको सुनाउँदै हेमजा लगायत त्यस आसपास क्षेत्रको विकासमा सहकार्य गर्न क्लब तयार रहेको स्पष्ट पारे। १३ औँ आलु महोत्सवमा ४ करोड बढीको कारोबार भएकोमा ४१ लाखको आलु मात्रै बिक्री भएको थियो।
महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान गरिएको थियो।
त्यस्तै रत्यौली गीत प्रतियोगिता, कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि भएको थियो।

