हेमजामा भएको रक्तदान कार्यक्रममा १०४ युनिट सङ्कलन 

स्वास्थ्य

किसान बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती २०८२ को पावन अवसरमा शनिवार हेमजामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

किसान बहुउद्देश्यीय सहकारी संस्था, हेमजा युनाइटेड र देवीस्थान सेवा समाजद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा १०४ युनिट रगत सङ्कलन भएको छ । पोखरा २५ हेमजाको मिलन चोकमा भएको रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज नेपालको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न। २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै  रगतको महत्तव  बारे जानकारी गराउनु भयो । सामाजिक काममा विभिन्न संस्थाको एकबद्धता निकै राम्रो काम भएको र यस्ता सामाजिक काममा वडाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न। २५  सदस्य धनकुमारी पोखरेल तिम्सिना, नेपाल स्वयंसेवी रक्तदाता समाज नेपालका अध्यक्ष दीपेन्द्र अधिकारी, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका सभापति नेत्रपाणी भण्डारी र महिला सञ्जाल हेमजाका अध्यक्ष अप्सरा तिम्सिनाले बोल्नु भएको थियो ।

देवीस्थान सेवा समाज उपाध्यक्ष चन्द्रकला पोखरेलले स्वागत गरी सुरु भएको कार्यक्रममा  हेमजा युनाइटेड एवं देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले कार्यक्रमको बारेमा  प्रकाश पार्नु भएको थियो ।
किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोतीराम तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक झकनाथ तिम्सिनाले गर्नु भएको थियो ।