मनाङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै मनाङ जिल्लामा बाढीपहिरोबाट भएको क्षति, प्रभावित क्षेत्रको अवस्था, सडक सञ्जाललाई सहज र सुरक्षित बनाउने उपाय, नागरिकको जनजीवन तथा सेवा प्रवाहमा देखिएका समस्या र आगामी दिनमा सम्भावित विपद्को जोखिम न्यूनीकरणका विषयमा महत्वपूर्ण छलफल कार्यक्रम गरेको छ ।
छलफलमा लमजुङका प्रतिनिधिसभा सदस्य माननीय धर्मराज के.सी.ज्यू, स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माननीय झविलाल डुम्रेज्यू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश सभापति नवीन त्रिपाठी, प्रदेश महामन्त्री कृष्णप्रसाद लम्साल, प्रमुख जिल्ला अधिकारी श्री मुक्ति प्रसाद खनालज्यू तथा जिल्ला समन्वय प्रमुख श्री चिन घलेज्यूको उपस्थिति रहेको थियो ।
त्यसैगरी, ङिस्याङ गाउँपालिकाका अध्यक्ष श्री कान्छा घलेज्यू, चामे गाउँपालिकाका उपाध्यक्ष श्री मिङ्मार लामाज्यू, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका मनाङस्थित प्रमुख, पूर्वाधारसम्बन्धी कार्यालयका प्रमुख तथा प्राविधिक, राष्ट्रिय अनुसन्धान विभागका चामेस्थित प्रमुख, जिल्ला जनस्वास्थ्य प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख (कोलेनिका) लगायत सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।
छलफलका क्रममा विपद्बाट भएको क्षतिको मूल्याङ्कन, अवरुद्ध सडक तथा यातायात सञ्चालनलाई सहज बनाउने उपाय, प्रभावित नागरिकलाई आवश्यक सहयोग तथा सेवा उपलब्ध गराउने, पर्यटकीय गतिविधिलाई चलयमान बानाउने, सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्ने र आगामी दिनमा सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी तथा कार्ययोजना निर्माण गर्ने विषयमा विचार–विमर्श गरिएको थियो ।
विपद्को सामना, प्रभावित क्षेत्रको पुनर्स्थापना र नागरिकको जनजीवनलाई सहज बनाउन सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय, सहकार्य र जिम्मेवार कार्यान्वयन अपरिहार्य रहेको छलफलमा सहभागिहरुको भनाई रहेको छ ।

