कास्कीको माछापुच्छ्रेमा गाउँपालिका–३ घाचोकमा आज पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर धादिङ निवासी हाल पोखरा महानगरपालिका–२५, हेमजामा बसोबास रहेका २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
घाचोकको लस्तीखोलास्थित हेमजा–माछापुच्छ्रे सडक खण्डमा विहान ९ः४५ बजे पहिरो खसेको थियो । प्रहरीका अनुसार दिउसो २ः२५ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो । बंगुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।
घटनामा परी घाचोककै शुक्ला गण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते हुनुभएको छ । उहाँको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराबाट विद्यालय जाने क्रममा शिक्षक पोखरेल सवार मोटरसाइकलाई पहिरोले पुरेको थियो । घटनामा घाइते शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।

