क्यान्सर रोग पीडित ८ बर्षिय एल्भिन सुनारलाई लाहाचोक समाज दक्षिण कोरियाको १ लाख ६२ हजार सहयोग

अर्थ समाचार होमपेज

८ वर्षीय एल्भिनको जीवन बचाउन जुट्यो समाज : लाहाचोकमा १ लाख ६२ हजार रुपैयाँ हस्तान्तरण, सहयोगको अभियान अझै जारी

लाहाचोक, कास्की । कहिलेकाहीँ एउटा सानो सहयोगले कसैको जीवनमा ठूलो आशाको किरण बन्न सक्छ। माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोक चर्याम निवासी प्रकाश सुनार र मोनिका सुनारका एकमात्र ८ वर्षीय छोरा एल्भिन सुनार यतिबेला जीवन र मृत्युको कठिन संघर्षमा छन्।

एल्भिनलाई ५ वर्षको उमेरमै रगतको क्यान्सर (ल्युकेमिया) भएको पत्ता लागेको थियो। त्यसयता निरन्तर उपचार गराइरहेका उनलाई चिकित्सकले अब बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने सल्लाह दिएका छन्। हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उनको उपचार भइरहेको छ। तर उपचार अत्यन्तै खर्चिलो भएकाले परिवार आर्थिक संकटमा परेको छ।

यही कठिन परिस्थितिमा एल्भिनको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले लाहाचोक समाज दक्षिण कोरियाको अगुवाइमा सहयोग अभियान सञ्चालन गरिएको थियो। अभियानअन्तर्गत माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक जोगीचौरका बालकृष्ण अधिकारीको नेतृत्वमा कुल १ लाख ६२ हजार रुपैयाँ संकलन गरिएको हो।

शनिबार आयोजित एक कार्यक्रमका बीच उक्त १ लाख ६२ हजार रुपैयाँ एल्भिनका परिवारलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा उपस्थित सबैले बालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि आवश्यक सहयोगमा साथ दिने प्रतिबद्धता जनाएका थिए।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा लाहाचोक समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष केशव अधिकारी, समाजका सल्लाहकार कृष्णप्रसाद बास्तोला, वडा सदस्य श्रीदेवी विक, समाजसेवी खम्बा सिंह सुनार, प्रेम विक लगायत स्थानीय समाजसेवी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

अभियान आयोजकहरूले सहयोग गर्ने सम्पूर्ण दाताप्रति हार्दिक आभार व्यक्त गर्दै एल्भिनको उपचारका लागि अझै ठूलो आर्थिक सहयोग आवश्यक रहेको बताएका छन्।