बागलुङको ट्रायल सेन्टरमा यातायात मन्त्रीको छड्के

समाचार

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर)को छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी लिन मन्त्री केसी बुधबार बागलुङ नगरपालिका–१ खनियाबासमा रहेको ट्रायल सेन्टरको छड्के निरीक्षणमा पुगेका हुन् ।

दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन परीक्षा प्रणालीलाई सरल र गुनासो नआउने गरी परीक्षा चलाउन यातायात कार्यालयका निमित्त प्रमुख अशोक घिमिरे र ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेलाई मन्त्री केसीले निर्देशन दिए । मन्त्री केसीले दुई पाङ्ग्रे प्रयोगात्मक परीक्षाको करिब १५ मिनेट अवलोकन गरे । उनले प्रयोगात्मक परिक्षा स्थलमा खटिएका यातायात व्यवस्था कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख घिमिरे, ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख न्यूरे र अन्य कर्मचारीलाई पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्न निर्देशन दिए । उनले सीसीटिभी फुटेज एक महिनासम्म रेकर्ड राख्ने, भीडभाड नगर्ने, परीक्षा स्थललाई सफा राख्ने र परिक्षार्थीले मनोबल उच्च रहनेगरी परीक्षा दिने वातावरण मिलाउन कर्मचारी र ट्राफिक प्रहरीलाई आग्रह गरे ।

नेकपा (एमाले)का सांसद केसी गत भदौ १७ मा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका थिए । मन्त्री बनेपछि केसीले अत्यावश्यकबाहेक भेला, समारोह, गोष्ठी लगायतमा समय खेर नफाल्ने निर्णय गरेका थिए । मन्त्री बनेको दुई महिना मन्त्रालयको कामकारबाहीको अवस्था बुझेपछि मन्त्री केसी फिल्ड भिजिटमा निस्कन थालेका छन् । तिहार बिदा सकिएपछि मन्त्री केसी जिल्लाका ठूलो लगानीका पूर्वाधार निर्माण र यातयात क्षेत्रमा भएको समस्याको पहिचानका लागि निस्कन थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *