छैटौँ हेमजा हिले महोत्सव २०८३ सम्पन्न, मौलिक संस्कृतिको उत्सवमा हजारौँको सहभागिता

Headlines खेलकुद पर्यटन समाचार साहित्य होमपेज

 

पोखरा, असार १५ । नेपाली मौलिक संस्कृति, कृषि परम्परा र सामुदायिक एकतालाई जीवन्त बनाउँदै पोखरा महानगरपालिका–२५ हेम्जास्थित देवीस्थान सेवा समाजको आयोजनामा छैटौँ हेमजा हिले महोत्सव–२०८३ भव्य रूपमा सम्पन्न भएको छ।

सोमबार दिनभर मौसम महोत्सवका लागि अनुकूल रह्यो। न चर्को घाम लाग्यो, न वर्षाले अवरोध सिर्जना गर्‍यो। अनुकूल मौसमका कारण बालबालिकादेखि युवा, महिला र ज्येष्ठ नागरिकसम्म हिलोमा रमाउँदै महोत्सवको भरपुर आनन्द लिए। हेमजा सँगै अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका, पोखरा महानगरका विभिन्न वडाका नागरिक तथा  विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिले महोत्सवलाई थप आकर्षक बनाएको थियो।

स्थानीय देवीस्थान माई मन्दिरमा भेला भएका सहभागीहरू कृषि झाँकी, परम्परागत भेष भूषा तथा सांस्कृतिक प्रस्तुति सहितको शोभा यात्रामा सहभागी हुँदै देवीस्थान मार्ग, मिलनचोक परिक्रमा गरी महोत्सव स्थल पुगेका थिए। ध्वजापताका, कृषि सामग्री तथा सहयोगदाताका ब्यानरले सिँगारिएको महोत्सव स्थल  व्यवस्थित र आकर्षक देखिएको थियो।

महोत्सवमा हिले दौड, रस्साकस्सी, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाइँ प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोडी दौड, माछा समाउने, हिले फुटबल, हिले भलिबल तथा भाले समाउने लगायतका मौलिक प्रतियोगिताले दिनभर दर्शकको ध्यान आकर्षित गरे। हिलोसँगै संस्कृति संरक्षण र कृषिप्रतिको सम्मानलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्य महोत्सवले सफलतापूर्वक पूरा गरेको आयोजकको भनाइ छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक अध्यक्ष धनकुमारी पोखरेल तिमिल्सिनाले हेमजाको पहिचानसँग हिले महोत्सव अभिन्न रूपमा जोडिएको बताइन्। हेमजामा सञ्चालन हुने अन्य महोत्सवसरह यस महोत्सवले पनि आफ्नै मौलिक पहिचान बोकेको उल्लेख गर्दै वडा नं। २५ ले यसलाई विशेष प्राथमिकतामा राखी निरन्तर सहयोग गर्दै आएको जानकारी दिइन्। यस्ता कार्यक्रमले नेपाली समाजको मौलिक संस्कृति र पहिचानलाई संरक्षण गर्ने भएकाले आगामी दिनमा पनि सहकार्य र सहयोगलाई निरन्तरता दिइने उनले बताइन्।

देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सहभागीप्रति आभार व्यक्त गर्दै परम्परागत संस्कार, संस्कृति र रीतिरिवाजको संरक्षण तथा नयाँ पुस्तामा त्यसको हस्तान्तरण गर्ने उद्देश्यले हिलो महोत्सवलाई निरन्तर आयोजना गर्दै आएको बताए।

प्रतियोगिता अन्तर्गत कृषि झाँकी र्‍यालीमा चापाघाट आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो, धवलागिरि आमा समूह तेस्रो तथा हेमजा युनाइटेड क्लब सान्त्वना भए।

पुरुष हिले दौडमा सागर क्षेत्री प्रथम तथा रोहन परियार दोस्रा भए। महिला हिले दौडमा गरिमा श्रेष्ठ प्रथम र स्वस्तिका गिरि दोस्रा  भइन्।

विद्यालय स्तरीय धान रोपाइँ प्रतियोगितामा अम्बिका माध्यमिक विद्यालय प्रथम, हेमजा बोर्डिङ दोस्रो, विष्णुपादुका माध्यमिक विद्यालय तृतीय तथा हेमजा बोर्डिङ समूह ‘बी’ सान्त्वना घोषित भए।

रस्साकस्सी प्रतियोगितामा महिलातर्फ नवविकास आमा समूह प्रथम र कविता वि.कको समूह दोस्रो भए भने पुरुषतर्फ आयोजक टोली प्रथम तथा सिमपानी ‘ए’ समूह दोस्रो  भयो।

हिले फुटबल प्रतियोगितातर्फ हावा एफसी विजेता बनेको छ भने चोरेपाटन एफसी उपविजेतामा सीमित भयो। हिले भलिबलमा होमको समूह प्रथम र ईधान भलिबल क्लब दोस्रो भयो। भाले समाउने प्रतियोगितामा तेम्जोन रोका मगर, शशिकान्त पासवान र रोहन परियार विजयी बने।

कार्यक्रमका अवसरमा कृषि क्षेत्रको विकास तथा हेम्जामा कृषि पेशाप्रति पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै तीन जना अग्रणी कृषकलाई सम्मान गरिएको थियो। सम्मानित हुने कृषकहरूमा श्याम बहादुर कार्की, गंगा तिमिल्सिना र केशव त्रिपाठी रहेका थिए। उहाँहरूलाई सम्मानपत्रका साथै नगद पुरस्कार प्रदान गर्दै कृषि क्षेत्रप्रति उहाँहरूले पुर्‍याएको दीर्घकालीन योगदानको उच्च मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ।

कृषि, संस्कृति, परम्परा र सामुदायिक एकतालाई एउटै मञ्चमा जोड्दै आयोजना गरिएको हिलो महोत्सवले हेमजाको मौलिक पहिचानलाई थप उजागर गरेको सहभागीहरूको भनाइ थियो। स्थानीय कृषकलाई प्रोत्साहन, सांस्कृतिक संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महोत्सवले महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मूल समारोह संयोजक चन्द्रकला पोख्रेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव पुष्पराज तिम्सिना र परशुराम अधिकारीले संयुक्त रूपमा गरेका थिए।