कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिकाका अध्यक्ष श्री मीन बहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरूको विशेष उपस्थिती रहेको थियो। कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न उहाँहरूको नेतृत्व, मार्गदर्शन र सक्रिय सहयोग महत्वपूर्ण रहेको सहभागीहरूले बताएका छन्।
हाल विश्व तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको अवस्थामा स्थानीय सरकारले समयको माग र प्रविधिको महत्वलाई आत्मसात गर्दै यस्ता कार्यक्रम सञ्चालन गर्नु दूरदर्शी र प्रशंसनीय कदम हो। विशेषगरी AI जस्ता अत्याधुनिक प्रविधिहरूले व्यवसाय व्यवस्थापन, बजार प्रवर्द्धन, ग्राहक सेवा तथा उत्पादनशीलता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। यसै सन्दर्भमा माछापुच्छ्रे गाउँपालिकाले स्थानीय महिला तथा युवालाई प्रविधिसँग जोडेर उद्यमशीलताको नयाँ सम्भावना सिर्जना गर्ने प्रयास गरेको छ।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले स्थानीय स्तरमै सीप, प्रविधि र उद्यमशीलतालाई प्रवर्द्धन गर्दै आर्थिक समृद्धिको आधार निर्माण गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उपाध्यक्ष सीता अधिकारीले महिलाहरूलाई प्रविधिमैत्री उद्यमशीलतासँग जोड्न र डिजिटल युगका अवसरहरूको अधिकतम उपयोग गर्न सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको गर्नुभयो । डिजिटल मार्केटिङ र AI सम्बन्धी ज्ञानले स्थानीय महिला उद्यमीहरूको व्यवसाय विस्तार, आम्दानी वृद्धि तथा आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी ले प्रविधिमैत्री ज्ञान र सीपले उद्यमीहरूको क्षमता अभिवृद्धि गरी स्थानीय अर्थतन्त्रलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सहभागीहरूले पनि तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गरी आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उपाध्यक्षको विशेष पहलमा सञ्चालन गरिएको यस कार्यक्रमले महिला सशक्तीकरण, डिजिटल साक्षरता र उद्यमशीलताको विकासमार्फत स्थानीय उत्पादन तथा सेवाको बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


