पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
अस्पताल स्रोतका अनुसार केही समययता स्वर्गीय मोहनप्रसाद ओली अस्वस्थ रहँदै आउनुभएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पतालमा उपचार भइरहेको अवस्थामा आज बिहान उहाँको देहावसान भएको हो।
स्वर्गीय ओलीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भक्तपुरस्थित ओली निवास गुण्डुमा लैजाने तयारी भइरहेको जनाइएको छ। पारिवारिक स्रोतका अनुसार उहाँको आजै काठमाडौँस्थित पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिनेछ।
स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी छन्। उहाँको निधनले ओली परिवार मात्र नभई आफन्त, शुभेच्छुक तथा राजनीतिक वृत्तमा पनि शोकको वातावरण सिर्जना भएको छ।
यस दुःखद घडीमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिरहेका छन्।

