छोरेपाटन माविमा खेलकुद सप्ताह सुरु

Headlines शिक्षा समाचार

पोखरा, ६ पुस।पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा आइतबारदेखि खेलकुद सप्ताह सुरु भएको छ।

सप्ताह शुभारम्भ गर्दै प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थीको चौतर्फी विकासमा विद्यालय सचेत रहेको सुनाए।उनले स्वास्थ्यका लागि खेल अपरिहार्य रहेको चर्चा गर्दै खेलमार्फत स्वयम् विद्यार्थी, विद्यालय एवम् राष्ट्रलाई नै चिनाउन सकिने स्पष्ट पारे।

विद्यार्थीको प्रतिभा प्रस्फुटन महत्वपूर्ण हुने उल्लेख गर्दै प्रधानाध्यापक शर्माले राष्ट्रपति रर्निङ शिल्ड प्रतियोगिताको तयारीमा जुट्न विद्यार्थीलाई आग्रह समेत गरे।उनले खेलले जीवनलाई अनुशासित एवम् मर्यादित बनाउने स्पष्ट पनि पारे।

सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले सरोकारवाला सबैको सहयोगबाट खेल सप्ताह सम्पन्न हुने विश्वास व्यक्त गर्दै खेलकुदका साथसाथै अध्ययनलाई पनि प्राथमिकतामा राख्न विद्यार्थीलाई सुझाए ।उनले खेलसँगै साथित्वको भावना पनि मजवुत बन्दै जाने उल्लेख गरे।

खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक डिल्लीराम बरालले विद्यार्थीलाई खेल जीवनको शुभकामना दिए।

प्रतियोगिता अन्तर्गत विभिन्न विद्यामा विद्यार्थी बीच अन्तरसदनात्मक प्रतिष्पर्धा हुनेछ।जसअन्तर्गत आइतबार छात्र बास्केटबल तथा छात्रा भलिबल सुरु भएको छ।त्यस्तै टेवलटेनिस, दौड, लङ जम्प, चेस, फुटसल लगायतका प्रतियोगिता गर्ने तयारी पनि विद्यालयको छ।

प्रधानाध्यापक शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक बरालले संचालन गरे।विद्यालयले यही पुस १७ गते वार्षिकोत्सव मनाउने तयारी पनि गरेको छ।