माछापुच्छ्रे«–५ रिभानमा सरसफाइ सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम

Headlines समाचार

कास्की जिल्ला माछापुच्छ्रे« गाउँपालिका वडा न.५ रिभानमा बुधवार सरसफाइ सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्थापना दिवसको अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङको आयोजना तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान र माछापुच्छ्रे«  गाउँपालिका वडा न. ५ वडा कार्यालयको समन्वयमा सरसफाइ सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा न.५ का वडा अध्यक्ष नारायण पौडेले सरसफाइ मानिस स्वस्थ रहनका लागि व्यक्तिगत तथा वातावरणीय स्वच्छता कायम गर्ने कार्य भएको बताउनु भयो । मानिसले सरसफाइमा ध्यान दिन सके हाम्रो जीवनमा हुने ३०–६० प्रतिशत सम्मको रोग लाग्नबाट बच्न सकिने महत्त्व राख्दै सहभागीहरूलाई सरसफाइमा सबैले चासो राख्नुपर्ने  थप उल्लेख गर्नुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र  आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतमले वातावरणीय सरसफाइ र स्वच्छताका माध्यमबाट मानव जीवनस्तरमा सुधार गर्न सकिन्छ भन्ने विश्ववशका साथ कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण ग्रिन रोड विष्ट म्यानेजमेन्ट प्रा.लिका निर्देशक विमल बास्तोलाले गर्नुभएको थियो । कार्यक्रममा फोहोर वर्गीकरण गरी प्लास्टिकजन्य फोहोरको व्यवस्थापन गर्ने विषय केन्द्रित रहेर सहभागीहरूले  आ–आफ्नो धारण राखेका थिए । 

उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, संरक्षण क्षेत्र व्यवस्थापन समितिका सदस्य,नेपाल रेडक्रस सोसाइटी रिभान उपशाखाका समिति, टोल विकास संस्थाका प्रतिनिधि बन व्यवस्थापन उपसमितिका प्रतिनिधि, महिला सञ्जाल, विभिन्न विद्यालयका प्रतिनिधिहरू सहित करिब ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

आगामी पौष ४ गते शुक्रवारका दिन आयोजनाको ३९ औँ वार्षिक उत्सव तथा संरक्षण संरक्षण दिवस विशेष विविध कार्यक्रमको आयोजना गरिने संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभानका सचिव शिव प्रसाद भुषालले जानकारी दिए ।

संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभानका अध्यक्ष तोरण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आयोजनाका रेन्जर सुदिप केसीले गरेका थिए ।