पार्चौ खुल्ला पोथाना कप ७ए साइड फुटबल प्रतियोगिता मंसिरको १७ गते देखि 

Headlines खेलकुद पर्यटन

 

मंसिर १५ । कास्की अन्नपूर्ण गाउँपालिका–७,मा पार्चौ खुल्ला पोथाना कप ७ए साइड फुटबल प्रतियोगिता–२०८२,हुने भएको छ । पोथाना टोल सुधार समितिको आयोजनामा यही मंसिर १७ गते देखि २० गते सम्म १९९० मिटर उचाइमा रहेको पोथना सेतीग्रहा खेलकुद मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद रु ७० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता लाई नगद रु ४० हजार साथमा साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक रवि गुरुङले जानकारी दिए । सेमिफाइनल पुग्ने टिमले नगद रु ७,५०० प्राप्त गर्नेछन् । अन्य विधागत तर्फ हाईस्कोरर,उत्कृष्ट खेलाडी र म्यानअफदी म्याचलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । टिममा ७ खेलाडी सहित ३ अतिरिक्त खेलाडी हुनुपर्ने नियम रहेको टोल विकास समितिका सचिव अमृत गुरुङले बताए । खेलमा समावेश हुन मंसिरको १७ गते बिहान १० :०० बजे सम्म टिम दर्ता गरी सक्नुपर्नेछ ।

खेलकुदको माध्यमबाट वडा न ७ संगै समग्र अन्नपूर्ण गाउँपालिको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । आयोजित खेलको  मंसिर १७ गते अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसिको प्रमुख अध्यक्षतामा उद्घाटन हुने पोथना टोल विकास समितिका अध्यक्ष थम बहादुर गुरुङले जानकारी दिए ।

 

पोखरा नजिकको गन्तव्य,पोथाना

तपाईँमा घुम्ने हुटहुटी छ, तर पर्याप्त समय छैन । छोटो समयमा केही मनमोहक ठाउँ घुम्न चाहनहुन्छ अथवा छोटो पैदल यात्रामार्फत धेरै रमणीय ठाउँमा पुग्ने रहर छ । यदि त्यस्तो हो भने तपाईँका लागि उचित गन्तव्य हुन सक्छ, पोखरादेखि पोथानासम्मको यात्रा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने पोथाना छोटो समयको ट्रेकिङको अनुभव सँगाल्नेहरूको रोजाइमा पर्ने गरेको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ काँडेसम्म सवारी साधनमा गएर त्यहाँबाट एक घण्टाको पैदल यात्रामा अस्ट्रेलियन बेस क्याम्प पुगी त्यहाँबाट ४५ मिनेटको पैदल यात्रापछि पोथाना पुग्न सकिन्छ । पोथाना पुगेर त्यहाँ रहेका होटेलमा बसी भोलिपल्ट बिहान १ घण्टाको पैदल यात्रापछि पितम देउराली पुगेर फर्कन सकिन्छ । मर्दी हिमाल ट्रेक,धोरेपानि, जाने रुट पनि यही हो ।

यता अर्को रुट पोखराबाट माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस हुँदै पोथाना पुग्ने हो । पोखराबाट झन्डै २१ किलोमिटरको दूरीमा पर्ने धम्पुस गाउँ आफ्नै सवारी साधन हुनेहरू १ घण्टामै पुग्न सक्छन् । हरिचोकबाट बाट अन्य सार्वजनिक यातायात बाट पनि घम्पुस पुग्न सकिन्छ ।  धम्पुसको यात्रापछि पोथाना, पितम देउराली, अस्ट्रेलियन क्याम्प तथा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले पुगेर मनमोहक दृश्य नियाल्दै यात्रालाई अविस्मरणीय बनाउन सकिन्छ ।

पोखराबाट नजिकको दूरीमा पर्ने यो ट्रेकिङ रुटमा सुन्दर हिमाल सहितका प्राकृतिक दृश्य नियाल्न पाइन्छ । यो रुटमा पर्यटकहरू पोथाना भ्यू प्वाइन्ट, वाइल्ड लाइफ वाचिङ सेन्टर, योग स्पट, माछा पोखरी, धम्पुसकोट, भुमे मन्दिर, नेवोताल वराह, सिद्घवराह मन्दिर, थाक डाँडा, तप्राङ मैदान, अस्ट्रेलियन क्याम्प, पितम देउराली आदि ठाउँ पुग्छन् । यो रुटमा एकैपटकमा हिमालको लामो रेञ्ज हेर्न सकिन्छ । यहाँबाट माछापुच्छ्रे, धौलागिरि, हिमचुली, अन्नपूर्ण आदि हिमालको सुन्दर दृश्य नियाल्न पाइन्छ ।