सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी गहन अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

समाचार होमपेज

पोखरा महानगरपालिका श्रम तथा रोजगार शाखाको आयोजनामा रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नम्बर २४ कास्किकोटमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा एक दिने गहन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष भरत बहादुर अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रममा वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरुलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा समुदाय स्तरको अभिमुखिकरण गरिएको हो।

कार्यक्रमको बारेमा सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक आदिम श्रेष्ठले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वित्तीय साक्षरताको महत्व र विप्रेषणको महत्त्वको बारेमा वित्तीय साक्षरता सहजकर्ता सृजना थापाले जानकारी गराउनुभयो भने समाजमा वैदेशिक रोजगारीका कारण निम्तिएका सामाजिक विकृति र पारिवारिक सम्बन्ध सुमधुरका लागि कार्यक्रम बाट हुने जानकारी र सहायताका सम्बन्धमा मनोसामाजिक परामर्शकर्ता प्रभा आचार्यले संक्षेपमा जानकारी दिनुभयो। त्यसै गरि आप्रवासी स्रोत केन्द्रबाट हुने सेवा प्रवाहका वारेमा सुचना परामर्शकर्ता विपना सुवेदीले आवश्यक सूचना र जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकामा सामी कार्यक्रमका सम्पर्क व्यक्ती रोजगार अधिकृत विष्णुप्रसाद दाहाले वैदेशिक रोजगारीमा जानुपुर्व, हुँदा र फर्केपछी ध्यान दिनुपर्ने विषयवस्तु, सरोकारवाला कार्यालय स्थान र प्राप्त हुने सेवाको विषय समेट्दै रोजगार सेवा केन्द्रबाट हुने आर्थिक सहायताको प्रक्रिया र श्रम स्विकृतीको महत्व समेटेर गहन अभिमुखिकरणको कक्षा संचालन गर्नुभएको थियो। कार्यक्रममा वडा सचिव बिरेन्द्र बहादुर कठायतले शुभकामना दिनुभयो भने वडा अध्यक्ष भरत बहादुर अधिकारीले महत्वपूर्ण कार्यक्रम वडालाई छनौट गरेको धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना प्रदान गर्नुभयो।

सोही अवसरमा वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सन्चालनका लागि आम भेला गरि वडा सदस्य सरस्वती त्रिपाठीको संयोजकत्वमा पाँच सदस्यीय कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ। उक्त कक्षा २१ हप्ता सम्म चल्नेछ भने कार्यक्रममा सहभागीले विप्रेषणको सहि सदुपयोग, खर्चको मितव्ययिता, वचत गर्ने वानीको विकास साथै उच्चतम प्रतिफलका लागि लघुलगानीको लागि विविध तरिका र विधिहरुबारे जानकारी प्राप्त गर्नेछन् । संयोजकका भनाइअनुसार पहिलो कार्यक्रमको रुपमा वडा कार्यलय २४ बाट सुरु भएको यो अभियान क्रमशै महानगरपालिकाका अरु वडामा पनि सन्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो। वडा न २४ को कार्यलयको समन्वयमा संचालित उक्त कार्यक्रमको संचालन वडाका सुचना अधिकारी इन्द्रप्रसाद जि सी ले गर्नुभएको थियो भने समापन वडा अध्यक्ष ज्युको आज्ञाअनुसार वडा सदस्य सरस्वती त्रिपाठीले गर्नुभएको थियो।